इटहरी । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीको तालिम इलाममा सुरु भएको छ । नेपाल प्रहरीतर्फ एक हजार सात सय ३४ जना र शसस्त्र प्रहरीतर्फ एक सय ७९ जना गरी एक हजार नौ सय १३ जना निर्वाचन प्रहरीलाई तालिम दिन थालिएको हो । इलाम सदरमुकामसहित जिल्लाका चुलाचुली, दानाबारी, फिक्कल, पशुपतिनगर र मङ्गलबारे गरी ६ स्थानमा तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयो । आगामी २७ गतेसम्म तालिम हुने र त्यसपछि निर्वाचन प्रहरी ४० दिन निर्वाचनमा खटिने छन् ।


