इटहरी । झापाका विभिन्न ठाँउमा गएर नक्कली सुन देखाएर आफूलाई अप्ठ्यारो परेको र उपचारका लागि रकम अभाव भएको भन्दै ठगी गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुर चौदण्डीगढी नगरपालिका वडा ३ बस्ने ४३ वर्षीय जितबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर बजारमा रहेको भोजपुर ज्वेलर्समा बिकले सुन जस्तो देखिने पहेलो धातु ९नक्कली सुन० धरौटी राख्न खोजेपछि यो रहस्य खुलेको हो । यसभन्दा अघि बिर्तामोडमा पनि बिक यस्तो कार्यमा संलग्न रहेको पाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ज्वेलर्सका सञ्चालकले शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले बिकको साथबाट नक्कली सूनको गहना सहित नियण्त्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया अघि बढाएको खड्काले जानकारी दिनुभयो । लोभलालच देखाएर यस प्रकारका ठगीका घटनाहरु हुनसक्ने भएकाले सचेत हुन प्रहरीले सबैलाई आग्रह गरेको छ ।


