इटहरी । सुनसरी क्षेत्र नम्बर ३ अन्तर्गत बर्जु गाउँपालिकामा नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीप्रति स्थानीय महिलाको समर्थन दिनप्रतिदिन बढ्दै गएको छ। बाढी, विपद् र अन्य कठिन परिस्थितिमा सधैँ जनताको साथमा उभिँदै आएकी चौधरीलाई पुनः संसद् पठाउने प्रतिबद्धता महिलाहरूले व्यक्त गरेका छन्।
बर्जु–३ की लक्ष्मी बुढाथोकीले भनिन्, “बाढी पीडित हुँदा होस् वा अन्य समस्या पर्दा, दिदी सधैँ आइपुग्नुहुन्छ। एक फोन गर्दा पनि तुरुन्तै आउनुहुन्छ। अरू नेताहरू कहाँ देखिन्छन् ?” उनले थपिन्, “आफ्नो मान्छे आफ्नै हुन्छ। हामी छातीमा हात राखेर भन्छौँ—दिदीलाई जसरी पनि जिताएर पठाउँछौँ।”चुनावका बेला ठूला आश्वासन दिने तर पछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति आमनागरिकमा असन्तुष्टि बढिरहेका बेला चौधरीलाई भने महिलाहरूले ‘सधैँ साथमा रहने नेता’को रूपमा विश्वास गरेका छन्। जनताको सेवामा निरन्तर खटिएको देखेर अन्य दल परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने क्रम पनि बढ्दै गएको छ। यसै क्रममा बर्जु–१ की सिता कुमारी मेहता नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी छन्। जेन्जी उमेर समूहकी मेहताले भनिन्, “भगवती दिदी सबैको कुरा ध्यान दिएर सुन्नुहुन्छ। महिलाका हकहितका लागि उहाँले धेरै संघर्ष गर्नुभएको छ। गरिब तथा विपन्न वर्गका लागि गर्नुभएको कामले मलाई उहाँकै नेतृत्वमा अघि बढ्न प्रेरित गर्यो।”
गाउँ–गाउँमा जनताको स्वस्फूर्त आकर्षण बढ्दै गएपछि अखिल नेपाल महिला संघ ९अनेमसंघ० ले चौधरीलाई पुनः विजयी गराउने लक्ष्यसहित अभियान सुरु गरेको छ। अनेमसंघ इटहरी अध्यक्ष रोश्नी राईका अनुसार अघिल्लो निर्वाचनमा देशकै उत्कृष्ट दश उम्मेदवारमध्ये पर्नुका साथै महिलातर्फ सबैभन्दा बढी मत ल्याएर विजयी भएकी चौधरीलाई यसपटक पनि जिताउने उद्देश्यले अभियान अघि बढाइएको हो। नेकपा एमाले महाधिवेशन प्रतिनिधि रञ्जु सिग्देलले चौधरीले हजारौँ महिलालाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाएको बताउँदै शहरदेखि गाउँसम्म महिलाहरू उनको पक्षमा सक्रिय रहेको जानकारी दिइन्। एमालेको ११औँ महाधिवेशनमा महिलातर्फ सबैभन्दा बढी २ हजार ४४ मत ल्याएर विजयी भएकी चौधरीप्रति देशभर विश्वास रहेको महाधिवेशन प्रतिनिधि फरिदा खातुनको भनाइ छ। “सुनसरी–३ बाट उहाँलाई पुनः जिताएर पठाउँछौँ,” उनले भनिन्।
स्थानीय रञ्जना सरदारले भनिन्, “हामीलाई दुःख पर्दा आइपुग्ने नेता नै उहाँ हुनुहुन्छ। उहाँलाई नजिताएर कसलाई जिताउने?” यसैबीच ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख ब्रह्मकुमारी शारदाले पनि भगवती चौधरीलाई पुनः विजयको शुभकामना व्यक्त गरेकी छन्। उल्लेखनीय छ, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई ५ हजार १८८ मतको अन्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेकी थिइन्।


