इटहरी । नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० गन्तव्यहरूमध्ये पर्ने मुन्दुम पदमार्ग पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै गएको छ । पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढेको छ । भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बु जिल्लालाई जोड्ने यो पदमार्गले नेपालको पूर्वी पहाडी क्षेत्रको प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई संसारभर चिनाउदै छ । पदमार्ग भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ । करिब १५६ किलोमिटर लामो यो ट्रेल किराँत समुदायको संस्कृति, इतिहास र परम्परालाई नजिकबाट अनुभव गर्न सकिने स्थानको रूपमा परिचित छ । ९ दिनमा पूरा गर्न सकिने पदयात्रामा यात्रुहरूका लागि खाने–बस्ने सुविधा, विश्रामका स्थान, र सूचना केन्द्रहरू स्थापना हुँदै गएका छन् । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि २ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ । पर्यटकमैत्री बनाउने उद्देश्यसहित बाटो सुधार, सूचना केन्द्र, र दृश्यावलोकन स्थलहरू निर्माणमा ध्यान दिइने उहाँले बताउनुभयो । पदमार्ग अन्तरगत चखेवामा निर्माणाधीन पर्यटन सूचना केन्द्र अन्तिम चरणमा पुगेको छ । सुचना केन्द्र आगामी बैशाखबाट सञ्चालनमा आउने भएको छ । मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि सन् २०२५ लाई “मुन्दुम ट्रेल भ्रमण वर्ष” घोषणा गरिएको थियोे । यो ट्रेललाई सप्तकोशी देखि सगरमाथा बेस क्याम्पसम्म विस्तार गर्न सकिने सम्भावना पनि अध्ययनको क्रममा छ, जसले यस क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ट्रेकिङ मार्गको रूपमा स्थापित गर्न मद्दत पु¥याउनेछ ।


