इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा अवस्थित हसिना सिमसारमा विश्व सिमसार दिवस प्रकृति प्रतिको प्रेम, जिम्मेवारी र भावनात्मक प्रतिबद्धताका साथ मनाइएको छ । जैविक विविधताको धरोहरका रूपमा रहेको सिमसार संरक्षणको सन्देश बोकेर आयोजित कार्यक्रममा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता रहेको थियो । नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षता तथा पूर्व संविधानसभा सदस्य अनिता परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिमसार केवल पानी जम्ने स्थान नभई जीवन, संस्कृति र भविष्यको आधार भएको सन्देश प्रवाह गरिएको थियो। “स्वस्थ शरीरका लागि स्वच्छ वातावरण” भन्ने मूल नारासहित हसिना सिमसार वरिपरि सांस्कृतिक तथा पर्यटकीय पैदल यात्रा गरिएको थियो । कार्यक्रममा तालतलैया कला, साहित्य तथा सांस्कृतिक समाज (कोशी प्रदेश, इटहरी–सुनसरी) को सहभागिता उल्लेखनीय रह्यो। साथै योगदान राष्ट्रका लागि इटहरी नगर समिति, एन बिके कलेज इटहरी र तालतलैया विकास तथा संरक्षण समिति, इटहरीले सहकार्य गरेका थिए । नाटक तथा विभिन्न सांगीतिक प्रस्तुति मार्फत सिमसार नष्ट हुँदा मानव जीवन, चराचुरुङ्गी र प्राकृतिक सन्तुलनमा पर्ने असरलाई अत्यन्त भावुक र कलात्मक ढंगले प्रस्तुत गरिएको थियो। कार्यक्रमको सहजीकरण नमुना सामुदायिक वन उपभोक्ता समितिकी कोषाध्यक्ष कृष्णकुमारी सिलवालले गर्नुभएको थियो। सहभागीहरूले हसिना सिमसार भावी पुस्ताका लागि अमूल्य सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा निरन्तर सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।


