इटहरी । बराहक्षेत्र नगरपालिका वडा–९ पूर्व टोल घर भई हाल वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बस्दै आउनु भएका श्रवण चन्द्रवंशीले करिब ५० हजार रुपैयाँ बराबरका ८० थान कपडा सहयोग गर्नु भएको छ । उक्त कपडा बराहक्षेत्र नगरपालिका वडा–९ भित्रका युवा पुस्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा–९ समितिका लागि सौजन्य स्वरूप प्रदान गरिएको हो । देशमा सकारात्मक परिवर्तन होस्, नयाँ युगको सुरुवात होस् र परिवर्तनको यात्रालाई अगाडि बढाउन वडा–९ निवासीहरूमा उत्साह र हौसला प्रदान गर्ने उद्देश्यले कपडा सहयोग गरिएको श्रवण चन्द्रवंशीले बताउनुभयो । उहाँले सुनसरी–४ को उज्यालो भविष्य, सुशासन तथा देशको मुहार फेर्ने लक्ष्यका लागि यस क्षेत्रबाट रास्वपाका उम्मेदवार इन्जिनियर दीपक कुमार साहलाई सबैको साथ र सहयोगले विजयी गराउन अपिल समेत गर्नुभएको छ । वैदेशिक भूमिबाट समेत रास्वपा परिवारलाई साथ, सहयोग र हौसला दिने उद्देश्यले कपडा उपलब्ध गराउनु भएकोमा श्रवण चन्द्रवंशीप्रति सबैले धन्यवाद व्यक्त गरेको रास्वपा वडा–९ का संयोजक घिशु चन्द्रवंशीले जानकारी दिनुभयो ।


