इटहरी | नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वृहत छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राखी कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीका कार्यवाहक सभापति सुखदेव राईको अध्यक्षतामा तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य एवं नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यवाहक सभापति सुखदेव राईले आगामी चुनावमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई प्रतिनिधि सभामा विजयी गराउन तरुण दल सक्रिय रूपमा परिचालित हुने बताउनुभयो ।
प्रमुख अतिथि सिजन गुरुङले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताएर देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले तरुण वर्गको सक्रिय सहभागिताले मात्र लोकतन्त्र मजबुत बन्ने उल्लेख गर्दै संगठनलाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, प्रचारप्रसार रणनीति, संगठन विस्तार तथा मतदाता भेटघाट अभियानबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले आ–आफ्ना क्षेत्रका अवस्था र चुनावी रणनीतिबारे सुझाव समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल तरुण दल सुनसरीका सहसचिव ओम गौतमले गर्नुभएको थियो ।
छलफल कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू सुनिल शाह, विशाल कटुवाल, केन्द्रीय पार्षध सुबोध घिमिरे, जिल्ला कार्यसमिति सुनसरीका उपसभापति दिलकुमार राई, उपाध्यक्ष रोहित सुब्बालगायत तरुण दलका विभिन्न क्षेत्रीय सभापति, नगरपालिका, गाउँपालिका तथा वडा तहका प्रतिनिधिहरू, साथै विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमले तरुण दललाई चुनावी अभियानमा अझ सक्रिय बनाउँदै संगठनलाई मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।


