इटहरी । निजी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षक–कर्मचारीको क्षमता विकासलाई केन्द्रमा राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेश र इन्स्पायर एजुकेशन कन्सलटेन्सीबीच सहुलियत दरमा विभिन्न तालिम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्ग्लिस स्कुलमा सम्पन्न सम्झौतामा नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनाल र इन्स्पायर एजुकेशन कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्र कुमार प्रसाईले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि प्रतिक्रिया दिँदै कार्यवाहक अध्यक्ष खनालले निजी विद्यालयको दीर्घकालीन सुधार शिक्षक र शैक्षिक जनशक्तिको सशक्तिकरणबाट मात्र सम्भव हुने उल्लेख गर्नुभयो ।
यस्तै, इन्स्पायर एजुकेशन कन्सलटेन्सीका सीईओ इन्द्र कुमार प्रसाईले शिक्षामा लगानी गर्नु भनेको भविष्य निर्माणमा लगानी गर्नु भएको धारणा राख्नुभएको थियो ।
सम्झौताअनुसार अब नेसनल प्याब्सन कोशी प्रदेश अन्तर्गतका विद्यालयका शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूले इन्स्पायर एजुकेशन कन्सलटेन्सी मार्फत विभिन्न तालिमहरू सहुलियत दरमा प्राप्त गर्न सक्नेछन् । यसले शैक्षिक दक्षता वृद्धि गर्नुका साथै निजी विद्यालय प्रतिको विश्वास थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सम्झौता कार्यक्रममा नेसनल प्याब्सन कोशी प्रदेशका सदस्य सन्तोष कुमार राई, नेसनल प्याब्सन मोरङका सचिव भनिरुद्र चौधरी, नेसनल प्याब्सन सुन्दरहरैंचाका सल्लाहकार भीम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


