इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष मुना तिम्सिनाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा कुल ६२ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष मुना तिम्सिनाले रक्तदान जस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

कार्यक्रम संयोजक कुसुम तामाङले संस्थाले वार्षिक उत्सवको अवसरमा पाँच जना भन्दा बढी रक्तदातालाई सहभागी गराउने सदस्य वा व्यक्तिलाई विशेष सम्मान गर्ने योजना रहेको जानकारी दिनुभयो। रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्रका साथै महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लोगो अंकित कप मायाको चिनो स्वरूप प्रदान गरिएको थियो।

संस्थाले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता रचनात्मक तथा मानवसेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । साथै, विभिन्न कार्यक्रमका अवसरमा नवप्रवेशी सेयर सदस्यहरूका लागि प्रवेश शुल्क निःशुल्क गर्ने व्यवस्था समेत गर्दै आएको जनाएको छ ।