इटहरी । नेकपा एमालेका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का युवा उम्मेदवार सुजन लामाले यतिबेला गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लामा मतदात ासँग संवादमा व्यस्त देखिनुभएको हो । यस क्षेत्रमा एमालेको संगठन बलियो रहेको र त्यसको सकारात्मक परिणाम चुनावमा देखिने दाबी गर्दै लामा जनताको समस्या, गुनासो र अपेक्षा सुन्दै अघि बढिरहनुभएको स्थानियहरू बताउनछन् ।
एमाले प्रति जनताको विश्वास बलियो रहेको छ त्यो विश्वासलाई अझ मजबुत बनाउँदै विकास र समृद्धिको मार्गमा अघि बढ्ने बताउनुभयो । बुधबार लामा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ तथा जनता बस्तीका विभिन्न टोलमा पुग्नुभएको थियो । घरदैलोका क्रममा उहाँले स्थानीयसँग आत्मीय संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक पूर्वाधार लगायतका विषयमा धारणा संकलन गर्नुभएको थियो ।
जनतासँगको भेटमा बोल्दै उम्मेदवार लामाले युवाले अब नयाँ सोच र ऊर्जासहितको नेतृत्व चाहेको उल्लेख गर्नुभयो । युवाको प्रतिनिधित्व गर्दै विकास, रोजगारी सिर्जना र सामाजिक रूपान्तरणको स्पष्ट एजेन्डा सहित चुनावी मैदानमा उत्रिएको उहाँले बताउनुभयो ।स्थानीयवासीहरूले क्षेत्रको समग्र विकास, बढ्दो बेरोजगारी, शिक्षा तथा स्वास्थ्य सेवामा सुधारको आवश्यकता औंल्याउँदै उम्मेदवारसँग अपेक्षा व्यक्त गर्नुभएको छ । कतिपयले सडक विस्तार, सिंचाइ सुविधा, कृषि आधुनिकीकरण तथा युवालाई स्वरोजगार बनाउने योजनाको माग समेत राखेका छन्।
घरदैलो कार्यक्रममा नेकपा एमाले सुनसरी, युवा संघ सुनसरी–इटहरी, नेशनल भोलेन्टियर फोर्स सुनसरी–इटहरी तथा एमालेका विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । लामा आगामी दिनमा पनि सुनसरी क्षेत्र नम्बर २ का सबै वडा तथा बस्तीमा पुगेर प्रत्यक्ष संवादलाई निरन्तरता दिने तयारीमा रहनुभएको छ । यसैबीच, उहाँले लागूऔषध दुव्र्यसनविरुद्ध कडा नीति तथा प्रभावकारी नियन्त्रण आवश्यक रहेको उल्लेख गर्दै युवामैत्री अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


