सुनसरी । नेकपा एमालेका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुजन लामाले यतिबेला गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लामा मतदातासँग संवादमा व्यस्त देखिनुभएको हो । 

यस क्षेत्रमा एमालेको संगठन बलियो रहेको र त्यसको सकारात्मक परिणाम चुनावमा देखिने अपेक्षासहित लामा जनताको समस्या, गुनासो र अपेक्षा सुन्दै अघि बढिरहनुभएको छ । बुधबार लामा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ तथा जनता बस्तीका विभिन्न टोलमा पुग्नुभएको थियो । घरदैलोका क्रममा उहाँले स्थानीयसँग आत्मीय संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक पूर्वाधार लगायतका विषयमा धारणा संकलन गर्नुभयो । जनतासँगको भेटमा बोल्दै उम्मेदवार लामाले युवाले अब नयाँ सोच र ऊर्जासहितको नेतृत्व चाहेको उल्लेख गर्नुभयो । 

गाउँगाउँमा सुजन लामा: घरदैलो अभियान तीव्र, विकास र रोजगारी मुख्य एजेन्डा

युवाको प्रतिनिधित्व गर्दै विकास, रोजगारी सिर्जना र सामाजिक रूपान्तरणको स्पष्ट एजेन्डा सहित चुनावी मैदानमा उत्रिएको उहाँले बताउनुभयो । सुनसरीमा देखिएको लागूऔषध दुव्र्यसनविरुद्ध आफ्नो कदम अघि बढाउदै युवावर्गलाई सुन्दर भविष्यतर्फ उन्मुख गर्ने उहाँको योजना छ । उहाँले भन्नुभयो,‘लागूऔषध दुव्र्यसनविरुद्ध कडा नीति तथा प्रभावकारी नियन्त्रण आवश्यक रहेको छ, त्यसमा पनि म काम गर्छु । युवामैत्री अवसर सिर्जना गर्ने मेरो प्रतिबद्धता छ ।’

यता, स्थानियहरू पनि लामाप्रति आशावादी देखिएका छन् । लामाले अहिलेसम्म गर्दै आउनुभएको कामका आधारमा निर्वाचनमा भोट दिए निराशा बन्नुनपर्ने उनिहरुको बुझाईछ । ‘युवा उम्मेदवार हुनुहुन्छ, त्यसैले जेनजीको भावना पनि बुझ्नुहुन्छ । सांसदको उम्मेदवार नयाँ भएपनि, हाम्रो लागि त पुरानो मान्छे हो ।’, इटहरी ५ की नन्दु लुईटेल भन्नुहुन्छ,‘उहाँले हाम्रो क्षेत्रमा सांसद नै नभएपनि राम्रो काम गरिरहनुभएको छ । राम्रो मान्छे हुनुहुन्छ ।’ इटहरीकै जिवन राई पनि राम्रो काम गर्ने नेताले भोट पाउनुपर्ने र काम गर्ने अवसर दिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘ देश विकास गर्ने, अवस्था परिवर्तन गर्नेमान्छे , जनताको दुःख बुझ्ने नेता, बेरोजगारी समाधानको एजेण्डा भएका नेतालाई भोट नदिने कुरा हुदैन ।’

sujan lama (2)

घरदैलो कार्यक्रमको क्रममा स्थानीयले उक्त क्षेत्रको समग्र विकास, बढ्दो बेरोजगारी, शिक्षा तथा स्वास्थ्य सेवामा सुधारको आवश्यकता औंल्याएका थिए । कतिपयले सडक विस्तार, सिंचाइ सुविधा, कृषि आधुनिकीकरण तथा युवालाई स्वरोजगार बनाउने योजनाको माग समेत राखेका छन् । लामा आगामी दिनमा पनि सुनसरी क्षेत्र नम्बर २ का सबै वडा तथा बस्तीमा पुगेर प्रत्यक्ष संवादलाई निरन्तरता दिने तयारीमा रहनुभएको छ । 

sujan lama (3)