इटहरी। जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका २६ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको छ।

संखुवासभाको चिचिला गाउँपालिका–१ घर भएका राईको विराटनगरस्थित नोबेल अस्पतालमा आइतबार बिहान २ बजेर २२ मिनेटमा मृत्यु भएको हो। ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका राईलाई मुटुसम्बन्धी समस्या देखिएपछि शनिबार दिउँसो ४ बजे उपचारका लागि विराटनगर पठाइएको थियो।

कारागारबाट प्रहरी नायब निरीक्षक तुलसीराम राईको नेतृत्वमा दुई जनाको प्रहरी टोलीले खाँदबारी रेडक्रसको एम्बुलेन्समार्फत उनलाई विराटनगरस्थित कोशी अस्पताल ल्याएको थियो। कोशी अस्पतालमा उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले आइतबार बिहान मृत घोषणा गरेका हुन्।

प्रहरीको अनुसार अस्पताल पठाउँदा राईको स्वास्थ्य अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा थिए। राईलाई २०८३ वैशाख ४ गते कारागार चलान गरिएको थियो। ज्यान मार्ने उद्योग मुद्दामा उनलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।