इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित राम्चेडाँडामा डेरी उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानलाई दूध बिक्री गर्न बजारसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

स्थानीय मोहन थापाले गाउँमै डेरी उद्योग सञ्चालन गरेपछि पाख्रीबास नगरपालिका–४ र ७ का किसानलाई दूध बिक्री गर्न सहज भएको हो । स्थानीय किसान भूपाल थापा यसअघि दैनिक ३० लिटर दूध बिक्री गर्न करिब डेढ घण्टा पैदल हिँडेर पाख्रीबास बजार पुग्नुहुन्थ्यो । दूध ट्यामीमा बोकेर बजारस्थित डेरीमा पुर्‍याउनुपर्ने बाध्यता थियो । तर, गाउँमै डेरी उद्योग सञ्चालन भएपछि उहाँलाई दूध बिक्री गर्न बजार धाउनुपर्ने बाध्यता हटेको छ ।

गाउँमै डेरी सञ्चालन भएपछि उत्पादित दूध बिक्री गर्न बजार जानुपर्ने अवस्था अन्त्य भएको भूपालले बताउनुभयो । यसले समयको बचत हुनुका साथै अन्य काम गर्न पनि सहज भएको उहाँको भनाइ छ । यसअघि बिहानको अधिकांश समय दूध बिक्री गर्न बजार आउजाउमै बित्ने गरेको भए पनि अहिले अन्य कामका लागि पर्याप्त समय मिल्ने गरेको उहाँले बताउनुभयो । भूपालजस्तै यस क्षेत्रका अन्य किसानले पनि दूध बिक्री गर्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । पाख्रीबास नगरपालिका–४ का किसान गोविन्द थापा पनि यसअघि दैनिक २७ लिटर दूध बोकेर करिब आधा घण्टा पैदल हिँड्दै पाख्रीबास बजार पुग्नुहुन्थ्यो ।

गाउँमै डेरी उद्योग सञ्चालन भएपछि दूध बिक्री गर्न सहज भएको उहाँले बताउनुभयो । किसानले उत्पादन गरेको दूध गाउँमै सहज रूपमा बिक्री गर्न पाउँदा आफूहरूलाई राहत मिलेको स्थानीय किसानको भनाइ छ । मोहनले आफ्नै कञ्चनजङ्घा डेरी उद्योग सञ्चालन गर्नुभएको छ । उहाँले चारवटा दुहुना गाई पाल्नुभएको छ भने आफ्नै गाईफार्मबाट दैनिक ४० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । उहाँले गाउँका किसानबाट दैनिक करिब २५० लिटरभन्दा बढी दूध सङ्कलन गर्ने गर्नुभएको छ ।

डेरी उद्योग सञ्चालन गरेर थापाले स्थानीय तीन जनालाई प्रत्यक्ष रोजगारीसमेत दिनुभएको छ । उद्योगका कारण अन्य व्यक्तिले पनि अप्रत्यक्ष रूपमा रोजगारीको अवसर पाएका छन् । उक्त डेरी उद्योगमा घिउ, छुर्पी र नौनीलगायतका दुग्धजन्य वस्तु उत्पादन हुने गरेका छन् । उद्योगबाट उत्पादित वस्तु अन्य जिल्लामा समेत निर्यात हुने गरेको छ । घिउ प्रतिकिलो ८०० देखि एक हजार १०० रुपैयाँसम्म र छुर्पी प्रतिकिलो एक हजार २०० देखि एक हजार ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको थापाले बताउनुभयो । 

डेरीबाट उत्पादित वस्तुको बजारमा समस्या नरहेको उहाँको भनाइ छ। स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म उत्पादनको माग रहेको उहाँले बताउनुभयो ।

सडक सञ्जालको पहुँच भएकाले थापा दूध सङ्कलनका लागि आफैँ टेम्पो लिएर गाउँका विभिन्न चोकमा पुग्नुहुन्छ । यसले किसानलाई दूध बिक्री गर्न थप सहज बनाएको छ । गाउँमै दूध बिक्री गर्न पाउँदा समय र श्रमको बचत हुनुका साथै आम्दानीका लागि पनि सहज भएको स्थानीय किसानको भनाइ छ ।