इटहरी । कृषि ज्ञान केन्द्र सुनसरीले कृषकलाई व्यावसायिक र दक्ष कृषक बनाउन कृषि पाठशाला सञ्चालन गर्दै आएको छ ।

जिल्लाका विभिन्न स्थानमा कृषक पाठशाला सञ्चालन गरेर कृषकलाई दक्ष र व्यावसायिक बनाउन थालिएको हो ।  किसानकै खेतबारीमा किसानलाई नै अग्रसर बनाएर बाली उत्पादन अवधिभर सामूहिक रूपमा सिकाइने कृषक पाठशाला किसानमाझ प्रभावकारी बन्दै गएको छ । किसानलाई तरकारी र अन्न उत्पादनमा आत्मनिर्भर बनाउन ज्ञान केन्द्र सुनसरीले कृषक पाठशाला सञ्चालन गर्दै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कृषक पाठशालामा कृषकलाई माटो तयारी, बिउबिजन राख्न, बेर्ना सार्न, मलखाद व्यवस्थापन, रोगकिराको पहिचान र व्यवस्थापनलगायत आवश्यक सबै विषय प्रयोगात्मक रूपमै सिकाइँदै आएको छ ।

कृषक पाठशालामार्फत कृषकले अधुनिक खेती प्रणालीका प्राविधिक ज्ञान बटुलिरहेको वराहक्षेत्र–७ का कृषक कमलबहादुर कटुवालले बताउनुभयो । वराहक्षेत्र–७ मा कृषि ज्ञान केन्द्र सुनसरीले तीनमहिने सप्तकोशी कृषक पाठशाला सञ्चालन गरेर कृषकलाई बारीमै प्रयोगात्मक कक्षा सञ्चालन गरेको थियो । किसानलाई व्यावहारिक प्रयोगात्मक र खोजपूर्ण तरिकाहरू अपनाएर बाली अवधिभर गरिने अवलोकन, विश्लेषण र समूह छलफल गराई तत्काल आएका समस्याको समाधान गर्न पाठशालाले कृषकलाई दक्ष बनाएको पाठशालाका सहभागी कृषकले बताएका छन् ।

पाठशालामा कृषि प्राविधिकको सहयोगमा किसानले आफैँ रोगकिराको पहिचान गर्नेदेखि बाली उत्पादनसँग सम्बद्ध समस्यामा केन्द्रित भई सामूहिक खोज गर्ने सिकेको सप्तकोशी कृषक पाठशालाका कृषक मुरारी निरौलाले बताउनुभयो । दक्ष प्राविधिकद्वारा पाठशालाको सहजीकरण गरिने हुँदा प्रभावकारी सिकाइ हँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । कृषकलाई जानकारी तथा चेतना जगाई कृषकको क्षमता विकास गरी कृषि उत्पादनमा वृद्धि गर्नु पाठशालाको मुख्य उद्देश्य रहेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले बताउनुभयो ।