मोरङ | सुतार कार्की सेवा समिति भाउन्ने, मोरङद्वारा निर्मित गौरीशंकर शिवालय मन्दिरको प्राण–प्रतिष्ठा तथा सम्मान कार्यक्रम धार्मिक श्रद्धा र सामाजिक सद्भावका साथ भव्य रूपमा सम्पन्न भएको छ।

सेवा समितिका जग्गादाता तथा पूर्वमन्त्री उपेन्द्र बहादुर कार्कीले करिब साढे ९ कठ्ठा जग्गा दान गरेपछि मन्दिर निर्माण कार्य सुरु गरिएको हो। दातृजनहरूको सहयोगमा करिब ३० लाख रुपैयाँको लागतमा मन्दिर निर्माणाधीन रहेको छ भने मन्दिर परिसरको भवन निर्माण कार्य समेत तीव्र गतिमा अघि बढिरहेको र करिब ४० लाख रुपैयाँ खर्चमा सम्पन्न हुने अपेक्षा गरिएको सेवा समितिले जनाएको छ।

सेवा समितिका संस्थापक तथा वर्तमान अध्यक्ष १०० वर्षका ज्येष्ठ नागरिक भएकाले कार्यक्रममा उपस्थित हुन नसक्नुभएको अवस्थामा ज्येष्ठ पदाधिकारी कर्णबहादुर कार्कीले कार्यक्रमको अध्यक्षता गर्नुभयो। करिब ३०० जनाको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सञ्चालन सुतार बन्धु तथा सामाजिक व्यक्तित्व राजेन्द्र कार्कीले गर्नुभएको थियो।

कार्यक्रममा धर्मगुरु तथा मन्दिरका पुजारीले मन्दिरको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा सुतार कार्की समुदाय मात्र नभई सम्पूर्ण स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

यस अवसरमा सेवा समिति भाउन्नेका संरक्षक तथा महासचिव राजेन्द्र कार्कीले सेवा समितिले वंश–एकता, धार्मिक गतिविधि तथा विपन्न वर्गको हितमा निरन्तर सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूमा अन्य सुतार बन्धुहरूको समेत सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

मन्दिर निर्माण १७ सदस्यीय कार्यसमिति पदाधिकारीहरू तथा अग्रज मनकारी दाजुभाइ सुतार कार्की बन्धुहरूको सक्रिय आर्थिक तथा भौतिक सहयोगमा अघि बढिरहेको जानकारी जग्गादाता उपेन्द्र बहादुर कार्कीका ज्येष्ठ सुपुत्र कमल बहादुर कार्कीले दिनुभयो।

आजको सम्मान कार्यक्रममा जग्गादाता उपेन्द्र बहादुर कार्कीकी ८२ वर्षीया धर्मपत्नी शोभा कार्कीसहित चार जना ज्येष्ठ नागरिक, तीनवटा विद्यालयका १८ जना विद्यार्थी, चार जना धार्मिक भजन गायिका तथा अन्य चन्दादातासमेत गरी करिब ४० जनालाई सम्मान गरिएको थियो।

यसैबीच, सुतार कार्की कुलबंश प्रतिष्ठानका तर्फबाट संस्थापक सल्लाहकार ज्ञानेन्द्र बहादुर कार्की, सेवा समिति सुनसरीका अध्यक्ष हेम कार्की तथा हरिकुमार कार्कीलगायत करिब ३०० जना बन्धुहरूको उल्लेख्य उपस्थिति रहेको जानकारी प्रतिष्ठानका महासचिव मनोज कार्कीले सार्वजनिक गर्नुभयो

धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक संरक्षणको सशक्त सन्देश बोकेको यो प्राण–प्रतिष्ठा तथा सम्मान कार्यक्रमले स्थानीय समुदायबीच सहकार्य, सद्भाव र साझा उत्तरदायित्वको भावना अझ प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्।