इटहरी । उच्च मनोबल सहित घरेलु मैदानमा प्रवेश गरेको आयोजक केराबारी एफसी चौथो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि चुम्न सफल भएको छ ।

प्रस्तावित खदम रंगशालामा हजारौं दर्शकको साथ पाएको आयोजक केराबारी एफसी र झापा ११ विच भएको अत्यन्तै कडा प्रतिस्पर्धात्मक खेलमा झापा ११ लाई हराउँदै केराबारीले इतिहास रच्दै उपाधि चुमेको हो ।  उपाधि संगै आयोजक केराबारी एफसीले नगद ४ लाख सहित मेडल ट्रफि र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता बनेको झापा ११ ले नगद २ लाख प्राप्त गरेको छ । विजेतालाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले पुरस्कार हस्तान्तरण गर्नुभयो । मध्यान्तर अघि दुवै टिमले गोल गर्न नसकेपनि मध्यान्तर पछि खेलको ३८ औं मिनटमा डिवक्स अगाडीबाट विकास परियारले दिएको पासलाई सदुपयोग गर्दै भुवन बस्नेतले हेड मार्फत उत्कृष्ट गोल गरी खेललाई जाली चुमाएका थिए ।

मध्यान्तर सम्म अत्यन्तै प्रतिस्पर्धात्मक वनेको खेल मध्यान्तर पछि झापा ११ का सबै खेलाडी रुपमा प्रस्तुत भएका थिए । यधपी झापाका खेलाडीले प्रहार गरेको गोलले जाली चुम्न नसक्दा अन्तत आयोजक केराबारीले गरेको १ गोल नै विजेताका लागि प्रयाप्त बन्यो । केराबारी फुटबल क्लब, मोरङको आयोजना तथा केराबारी गाउँपालिकाको मूख्य प्रायोजनमा फागुन २८ देखि सुरु भएको सो प्रतियोगिता केराबारीको सबैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता हो ।