दुहबी | नजिकिँदै गरेको मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा सुनसरीको दुहबी नगरपालिका -९ स्थित १ सय बढी घर मुस्लिम परिवारलाई रमजान फुड प्याकेज वितरण गरिएको छ। माई क्येर मलेसियाको तर्फबाट हेस्रा नेपाल संस्था तथा दुहबी नगरपालिका वडा नम्बर -९ को संयोजनमा आयोजित कार्यक्रममा गरिब तथा विपन्न मुस्लिम दाजुभाइ तथा दिदीबहिनीलाई खाद्य सामग्री प्रदान गरिएको हो।
उक्त राहत वितरण कार्यक्रम हेस्रा नेपाल संस्था, दुहबी-९ का अध्यक्ष गुलाम रसुल मियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राहत वितरण संयोजक थानेश्वर ओझा, दुहबी वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष सतिश कुमार चौधरी , कार्यक्रम संयोजक अमिरूल ईसलाम ,हेस्रा नेपाल संस्थाका पदाधिकारीहरू,स्थानीय अगुवा एवं समाजसेवीहरू उपस्थित थिए।
विपन्न तथा गरिब परिवारलाई सहयोग गर्ने उद्देश्यले फुड प्याकेज वितरण गरिएको हो। राहतस्वरूप प्रदान गरिएका सामग्रीमा चामल, दाल, चिनी, तेल, मैदा, चना, खजुर, चियापत्ति लगायत दैनिक आवश्यक खाद्य सामग्रीहरू समावेश थिए।
संस्थाका पदाधिकारीहरूका अनुसार यो कार्यक्रम विशेष गरी ती मुस्लिम परिवारलाई लक्षित गरिएको थियो, जो आर्थिक रूपमा कमजोर छन् र रमजान महिनामा खाद्य अभाव झेल्नुपर्ने स्थिति छ।

हेस्रा नेपाल संस्थाका अध्यक्ष गुलाम रसुल मियाका अनुसार सामाजिक कार्यले समुदायमा भाइचारा, सहयोग र एकताको सन्देश प्रवाह गर्ने बताउनु भयो ।
संयोजक थानेश्वर ओझाले कार्यक्रमको सफलतामा सबै स्वयंसेवक, दाताहरू र स्थानीय प्रशासनको महत्त्वपूर्ण योगदान रहेको बताउनु भयो । राहत सामग्री प्राप्त गरेका स्थानीय मुस्लिम समुदायका सदस्यहरूले खुशी व्यक्त गर्दै सहयोगी हातहरूलाई धन्यवाद दिएका छन्। उनीहरूले यस्तो किसिमको सहयोगले रमजान महिनालाई अझ सहज बनाएको बताएका छन्।


