इटहरी । खड्कपुरिया लेखी थारू संस्था इटहरीको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित संयुक्त भूपू सैनिक सामुदायिक भवनमा आयोजना गरिएको हो । थारू समुदायबीच आपसी एकता, सद्भाव र सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष सरोज चौधरी (लेखी)ले समुदायबीच नियमित भेटघाटले सामाजिक एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले पहिचान, परम्परा र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्नेछ । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ सदस्य इनर लाल चौधरीले थारू समुदायको सामाजिक योगदान उल्लेख गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उहाँले थारू समुदायले समाजमा खेलेको महत्वपूर्ण भूमिकालाई थप सशक्त बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो। गत माघ १६ गते कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले संयुक्त भूतपूर्व सैनिक सामुदायिक भवनको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार रामराज चौधरी, पदाधिकारी तेज नारायण चौधरी लगायत थारू संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। चियापान सहित सम्पन्न कार्यक्रमले थारू समुदायबीच आपसी सद्भाव, सहकार्य र संगठनात्मक मजबुतीलाई थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ ।