सुनसरी क्षेत्र नम्बर ३ मा राजनीतिक माहोल तीव्र बन्दै गएको छ। तीन सयभन्दा बढी जेनजी युवाहरू खुलेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्दै उम्मेदवार भगवती चौधरी को जित सुनिश्चित गर्ने अभियानमा जुटेका छन्। इटहरी मा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम युवाको उत्साह र राजनीतिक प्रतिबद्धताले भरिएको देखिन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले स्पष्ट शब्दमा भनिन्— “देश बनाउने शक्ति युवा हुन्, र युवाको भविष्य सुरक्षित गर्न सक्ने पार्टी एमाले मात्रै हो।” उनले विकास, रोजगारी र स्थायित्वका मुद्दामा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै विपक्षीहरूलाई कामको आधारमा प्रतिस्पर्धा गर्न चुनौतीसमेत दिइन्।
युवाहरूले पनि अबको चुनाव नारा होइन, कामको मूल्याङ्कनका आधारमा हुने बताएका छन्। “जनताको बीचमा रहने, समस्या पर्दा साथ दिने नेतृ भगवती चौधरी नै हुन्,” सहभागी युवाहरूको भनाइ थियो। उनीहरूले यसपटक ठूलो मतान्तरसहित विजय दिलाउने घोषणा गर्दै घरदैलोदेखि मतदानसम्म सक्रिय रहने प्रतिबद्धता जनाए।
कार्यक्रम आयोजकहरूका अनुसार युवाको बढ्दो समर्थनले चुनावी समीकरण स्पष्ट हुँदै गएको छ। राजनीतिक विश्लेषकहरू पनि सुनसरी ३ मा चौधरीको पक्षमा माहोल बलियो बन्दै गएको टिप्पणी गर्न थालेका छन्।
स्थानीय युवाहरूको भनाइ छ— “अब भ्रमको राजनीति होइन, परिणाम दिने नेतृत्व चाहिन्छ। त्यसको विकल्प भगवती चौधरी नै हुन्।”


