इटहरी । इटहरी–१६ मा अवस्थित सुनसरी कृष्टल एकेडेमीले आफ्नो २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ ।
वि.सं. २०६२ सालमा स्थापना भएको यस विद्यालयले दुई दशकभन्दा बढी समयदेखि शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। २१ वर्षे सफल यात्राको अवसरमा विद्यालय प्राङ्गणमै विविध कार्यक्रम सहित विशेष समारोह आयोजना गरिएको हो। हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मका सयौं विद्यार्थी अध्ययनरत रहेका छन्। समारोह विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र धिमालको सभाध्यक्षता तथा शिक्षा, युवा तथा खेलकुद महाशाखा इटहरीका अधिकृत पुष्कर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्याब्सन अध्यक्ष सूर्यमणि निरौला, इटहरी–५ का वडाध्यक्ष भीष्मकुमार घिमिरे, बालग्राम प्रहरी चौकीका इन्चार्ज, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, गायिका सुनिता कटवाल, बुद्धिजीवी अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा दीप प्रज्वलन सहित गरिएको थियो भने स्वागत मन्तव्य प्रधानाध्यापक सुरेश चन्द्र भट्टराईले राख्नुभयो। उहाँले विद्यालयको २० वर्षे इतिहास, शैक्षिक उपलब्धि, चुनौती तथा आगामी योजनाबारे प्रकाश पार्दै गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यमान्यतामा आधारित शिक्षण प्रणालीलाई निरन्तर सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै आगामी दिनमा प्रविधिमैत्री कक्षा सञ्चालन, छात्रवृत्ति कार्यक्रम विस्तार तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनुभयो। सो अवसरमा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, समर्पित शिक्षक तथा सहयोगी अभिभावकहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नेपालको विविध जातजाति तथा समुदायको सांस्कृतिक पहिचान झल्काउने नृत्य, नाटक, गायन तथा वाद्ययन्त्र प्रस्तुत गरी उपस्थित दर्शकहरूको मन जितेका थिए।
प्रमुख अतिथि पुष्कर गौतमले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रस्तुतीकरण सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभयो। अध्यक्ष राजेन्द्र धिमालले सबैको साथ, सहयोग र सुझावबाट विद्यालयलाई अझ स्तरीय र सर्वोत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

