इटहरी । सुनसरी–४ क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मुसा चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएकी सामाजिक अभियन्ता यमुना केसी प्रति मतदाताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।
चुनाव नजिकिँदै जाँदा गाउँ–टोल देखि बजार क्षेत्रसम्म उहाँको पक्षमा जनसमर्थनको लहर देखिन थालेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाहरूका अनुसार परम्परागत दलका उम्मेदवारप्रति निराशा बढ्दै गएको अवस्थामा स्वतन्त्र उम्मेदवार केसीले उठाउनुभएका मुद्दा, सरल व्यवहार र प्रत्यक्ष जनसम्पर्क अभियानका कारण मतदातामा नयाँ आशा पलाएको छ ।
विशेषगरी युवा, महिला तथा पहिलोपटक मतदान गर्न लागेका मतदाताहरू उहाँको अभियानमा सक्रिय रूपमा जोडिन थालेका छन्। यमुना केसीले घरदैलो अभियानलाई तीव्रता दिँदै प्रत्येक मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिक एजेन्डा बनाउँदै “जनताको प्रतिनिधि भनेको जनताकै बीच बस्ने व्यक्ति हुनुपर्छ” भन्ने सन्देश दिँदै आउनुभएको छ।
यसले मतदातामा विश्वासको वातावरण सिर्जना गरेको स्थानीय अगुवाहरू बताउँछन्। केसीको अभियानमा देखिएको उत्साहलाई धेरैले “परिवर्तनको संकेत” का रूपमा व्याख्या गरेका छन्। विगतमा पार्टीगत प्रतिस्पर्धाले सीमित हुने चुनावी माहोल यसपटक स्वतन्त्र उम्मेदवारको प्रभावले फरक बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
गाउँका ज्येष्ठ नागरिकदेखि शहरका व्यवसायीसम्म धेरै मतदाताले “यसपटक फरक निर्णय लिन तयार” रहेको प्रतिक्रिया दिएका छन्। कतिपयले खुलेरै समर्थन जनाउँदै मतदानको दिन पर्खिरहेको बताएका छन् । चुनावी माहोल तातेसँगै सुनसरी–४ मा यमुना केसीप्रति बढ्दो भरोसा र समर्थनले चुनावी समीकरण रोचक बन्दै गएको छ । मतदाताको यो उत्साह मतदान परिणाममा कति रूपान्तरण हुन्छ भन्ने चासो अहिले सबैको केन्द्रमा रहेको छ ।


