इटहरी । मोरङ जिल्लाको सुन्दरहरैचा स्थित राधेश्याम सेवा ट्रस्ट नयाँ विन्दावन गौशालामा फूलको होली खेल्दै उल्लासपूर्ण वातावरणमा होली पर्व मनाइएको छ ।
धार्मिक, सांस्कृतिक र आध्यात्मिक सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा सयौँ भक्तजनको सहभागिताले गौशाला परिसर रंगीन र भक्तिमय बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि जगत गुरु बाल सन्त मोहन शरण देवाचार्यले सम्बोधन गर्दै धर्म, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणका लागि हिन्दु मूल्य–मान्यता मजबुत हुनुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्दै हिन्दुवादी एजेण्डा बोकेका राजनीतिक शक्तिलाई समर्थन गर्न भक्तजन तथा नागरिकलाई आग्रह गर्नुभयो । उहाँले धर्म र संस्कृति केवल आस्था मात्र नभई राष्ट्रको आत्मा भएको उल्लेख गर्दै परम्परागत मूल्यको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । असत्य माथि सत्यको विजय तथा वसन्त ऋतुको आगमनको प्रतीकका रूपमा गौशाला परिसरमा फूलको वर्षा गर्दै होली खेलिएको थियो।
सहभागीहरूले एक–अर्कालाई फूल र गुलाबजल छर्केर शुभकामना आदानप्रदान गरेका थिए । धार्मिक भजन, कीर्तन र सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। गौशालाका संरक्षक दिनबन्धु साश्त्रीका अनुसार यस वर्षको होली विशेष रूपमा भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले फूल र सुगन्धित जलको प्रयोग गरेर मनाइएको हो। उ
हाँले यस्तो कार्यक्रमले समाजमा प्रेम, सद्भाव र एकताको सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा सुन्दरहरैचा तथा आसपासका विभिन्न क्षेत्रबाट करिब १५ सयभन्दा बढी भक्तजनहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।
सहभागीहरूले परम्परागत शैलीमा मनाइएको होलीले धार्मिक आस्था र सांस्कृतिक गौरवलाई थप मजबुत बनाएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको समापन प्रसाद वितरण र शुभकामना आदानप्रदानसँगै गरिएको थियो। आयोजकका अनुसार आगामी वर्षहरूमा पनि यसलाई अझ भव्य र व्यवस्थित रूपमा आयोजना गर्ने योजना रहेको छ ।


