इटहरी । रेडस्टार माविको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।  शनिबार विद्यालयको दुई दिवसीय कार्यक्रम विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सहित सम्पन्न भएको हो।

  विद्यालयका प्रवन्ध निर्देशक एवं प्रिन्सिपल टि.एन. तिम्सिनाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पूर्वी मोरङको शैक्षिक हबको रूपमा स्थापित हुँदै रेडस्टार माविले नगरकै शान, मान र ईज्वत उच्च राख्दै शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।

उहाँले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सावित विद्यालयले विभिन्न जातजाति र समुदायको सांस्कृतिक एवम् मौलिकतालाई पनि जगेर्ना गरेको उल्लेख गर्नुभयो । विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेर विद्यार्थीको प्रतिभा पहिचान, अभिभावक–विद्यालय सम्बन्ध सुदृढीकरण तथा शैक्षिक उपलब्धिको सम्मान गर्ने उद्देश्य राखेको विद्यालयका प्रबन्धक निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले बताउनुभयो।

उहाँले विगत सात वर्षदेखि उत्कृष्ट नतिजा हासिल गर्दै संस्कार सहितको जीवन उपयोगी शिक्षालाई निरन्तरता दिईरहेको बताउनुभयो । कार्यक्रममा विभिन्न तह र कक्षाका विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट शिक्षकको रूपमा अतिरिक्त क्रियाकलाप संयोजक सनम गजमेर र उत्कृष्ट कर्मचारीको रूपमा सन्त कुमार लामालाई दोसल्ला ओडाएर  नगद सहित सम्मानित गरिएको थियो।