इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ । एक मात्र निर्वाचन क्षेत्रमा रहेको धनकुटामा कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । 

धनकुटामा कुल एक लाख १८ हजार चारसय २४ मतदाता मध्ये ५४।४५ प्रतिशत अर्थात ६४ हजार चारसय ९० खसेको थियो । जसमध्ये चार हजार आठसय ८३ मत बदर भएका थिए । बाँकी सदर मत ५९ हजार छसय सात मतको दश प्रतिशत अर्थात ५ हजार नौ सय २१ मत आवश्यक थियो । 

सोही १० प्रतिशत मत प्राप्त गर्न नसक्ने नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, मंगोल नेशनल अर्गनाइजेसनका सागर राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली रहनुभएको छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादीका रविनकुमार राई, जनता समाजवादी पार्टीका निशान राई, आम जनता पार्टीका प्रेमबहादुर थापा रहनुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ, जितेन्द्र राई र मनकुमार योञ्जनको पनि जमानत जफत भएको धनकुटाका मुख्य निर्वाचन अधिर्कत हरीशचन्द्र इङनामले जानकारी दिनुभयो ।

नेकपा ९एमाले० का उम्मेदवार राजेन्द्रकुमार राई, नेपाली कांग्रेसका दिनेश राई, श्रम संस्कृति पार्टीका सानबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीको मात्र जमानत जोगिएको हो । एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १८ हजार एकसय ३२ मतसहित विजयी हुनुभएको थियो । 

त्यस्तै नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार नौसय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले नौ हजार नौ सय ४४ मत प्राप्त गर्दै जमानत जोगाएका जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख माधबप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जमानत जफल भएका मध्ये दुई उम्मेदवारको मात्र हजार मत कटेको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धर्मराज पौडेलले एक हजार छसय ६५ र स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले एक हजार एकसय ८१ मत प्राप्त गर्नुभएको छ । अन्य उम्मेदवारको एक हजार मत समेत नकटेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।