इटहरी । हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने दौडमा निकै नजिक पुगेको छ।
देशभर समानुपातिकतर्फको मतगणना जारी रहँदा उक्त पार्टीले आवश्यक थ्रेसहोल्ड पार गर्ने सम्भावना बलियो बन्दै गएको हो। नेपालको निर्वाचन प्रणालीअनुसार राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकतर्फ खसेको कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड ९ लाखभन्दा बढी मत खसेको अनुमान गरिएको छ।
सोही आधारमा राष्ट्रिय पार्टी बन्न झण्डै ३ लाख ३० हजार आसपास मत आवश्यक पर्ने देखिएको छ।हालसम्मको मतगणनाअनुसार श्रम संस्कृति पार्टीले ३ लाख १ हजार २ सय १७ मत प्राप्त गरिसकेको छ। यसले गर्दा पार्टीलाई राष्ट्रिय पार्टी बन्न अब केही हजार मत मात्र आवश्यक देखिएको छ । मतगणना जारी रहेकाले आवश्यक थ्रेसहोल्ड पार गर्ने सम्भावना अझै कायम रहेको छ। यता समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ लाख ५९ हजार ६ सय ३ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम राखेको छ।
त्यसैगरी नेपाली कांग्रेसले झण्डै १४ लाख मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ११ लाख ७५ हजारभन्दा बढी मत प्राप्त गरेको छ। यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पनि ६ लाखभन्दा बढी मत प्राप्त गरेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले अन्तिम नतिजासँगै दलहरूको वास्तविक अवस्थाबारे स्पष्ट हुने निर्वाचन आयोगले जनाएको छ।


