मोरङ | मोरङको सुन्दरहरैचा–७ बेलगाछीमा क्रियाशील जनसहयोग युवा क्लबलाई समाजसेवी प्रमोद सिटौलाले आफ्ना स्वर्गीय बुबा हरिप्रसाद सिटौलाको सम्झनामा बस प्रदान गर्नुभएको छ। समुदायमा सामाजिक सेवा तथा आपतकालीन कार्यमा सहजता होस् भन्ने उद्देश्यले बस उपलब्ध गराइएको दाता सिटौलाले बताउनुभयो।

बस प्राप्त भएपछि क्लबले आफ्ना सदस्यहरूलाई विशेष छुट तथा गाउँ–समाजमा हुने मलामी कार्यका लागि निःशुल्क सेवा दिने निर्णय गरेको जनाएको छ। यस निर्णयले स्थानीय समुदायलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

जनसहयोग युवा क्लबले स्थापना कालदेखि नै विभिन्न सामाजिक, खेलकुद तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबले फुटबल, भलिबल, कराते प्रशिक्षण, सांगीतिक कार्यक्रमका साथै सामाजिक कामहरूमा पनि सक्रिय भूमिका निभाउँदै आएको छ। क्लबले बाटो सफा गर्ने, प्रवेशद्वार (गेट) निर्माण, गरिब परिवारका बालबालिकालाई पढाउने, सडक बत्ती जडान, रोड मार्किङ गर्ने लगायतका कार्यहरू गर्दै आएको छ। साथै चाडपर्वका अवसरमा स्थानीय सांस्कृतिक कार्यक्रम र नाचगानमार्फत समुदायलाई जोड्ने काम पनि गर्दै आएको छ।

क्लबका अध्यक्ष राजकुमार बयलकोटीले समुदायको सहयोग र युवाहरूको सक्रियताले क्लबलाई सामाजिक कार्यमा निरन्तर अघि बढ्न प्रेरणा मिलेको बताउनुभयो। बस प्राप्त भएसँगै अब क्लबले आपतकालीन सेवा, सामाजिक कार्यक्रम र समुदायका आवश्यक काममा अझ प्रभावकारी रूपमा सेवा दिन सक्ने उहाँको भनाइ छ।

बस प्रदान गर्ने समाजसेवी प्रमोद सिटौलाले आफ्नो बुबा स्वर्गीय हरिप्रसाद सिटौलाले समाजसेवामा देखाएको प्रेरणालाई स्मरण गर्दै युवाहरूले गरिरहेको सकारात्मक कामलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले युवाहरूको सक्रियताले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय समुदायका अनुसार जनसहयोग युवा क्लबले विगतदेखि गर्दै आएको सामाजिक अभियानले बेलगाछी क्षेत्रको विकास र सामाजिक एकतामा सकारात्मक प्रभाव पार्दै आएको छ।