इटहरी । सुनसरीको कोशी गाउँपालिका वडा नं। ३ मा सामुदायिक कुकुरलाई कुटपिट गरी तड्पाएर मारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय ३५ वर्षीय सन्तोष दासले आफ्नो मकैबारीमा आएको भन्दै एउटा सामुदायिक कुकुरलाई लठ्ठीले क्रूर रूपमा कुटपिट गरी मारेको आरोप लागेको छ । घटनाबारे उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका दासलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पशुपंक्षी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।


