भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको समग्र विकास, नीति तथा आगामी आर्थिक वर्षको योजना निर्माणलाई केन्द्रमा राख्दै सभा आयोजना गरिएको हो।

गाउँपालिका अध्यक्ष सरोज बस्नेत को अध्यक्षतामा सम्पन्न उक्त सभामा उपाध्यक्ष रमादेवी राई, प्रमुख प्रशासकीय अधिकृत अदित दाहाल, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा गाउँपालिकाले हालसम्म सम्पन्न गरेका विकास निर्माणका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी रूपमा योजना कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो। विशेषगरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने दिशामा गम्भीर छलफल भएको जनाइएको छ।

यस क्रममा गाउँपालिका अध्यक्ष बस्नेतले स्थानीय तहको समृद्धि र दिगो विकासका लागि पारदर्शी, जनमुखी र व्यवहारिक बजेट आवश्यक रहेको उल्लेख गर्दै सबै जनप्रतिनिधि तथा कर्मचारीलाई जिम्मेवार ढंगले काम गर्न आग्रह गर्नुभयो। त्यस्तै उपाध्यक्ष राईले महिलाहरूको सशक्तीकरण, सामाजिक समावेशिता तथा ग्रामीण विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत दाहालले गाउँपालिकाको आर्थिक अवस्था, आन्तरिक आम्दानी तथा खर्चको अवस्थाबारे जानकारी गराउँदै यथार्थपरक बजेट निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै उहाँले योजना छनोटदेखि कार्यान्वयनसम्म पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिनुभयो।1774007500248

गाउँसभामा सहभागी वडा अध्यक्षहरूले आफ्ना वडामा रहेका समस्या, आवश्यकताहरू तथा प्राथमिकताका योजनाहरू प्रस्तुत गर्दै आगामी बजेटमा ती विषय समावेश गर्न माग गरेका थिए। सडक, खानेपानी, शिक्षा सुधार, कृषि आधुनिकीकरण तथा रोजगारी सिर्जना जस्ता विषयहरू प्रमुख रूपमा उठाइएको थियो।

सभाको अन्त्यमा प्राप्त सुझाव तथा छलफलका आधारमा आगामी आर्थिक वर्षको बजेटलाई परिमार्जन गरी जनताको आवश्यकता अनुरूप बनाउने सहमति गरिएको गाउँपालिकाले जनाएको छ। गाउँसभाले स्थानीय तहको विकासलाई थप गति दिने विश्वास समेत व्यक्त गरिएको छ।