इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) ले आफ्नो १८ औं स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।

नाबुन विराटनगर महानगर कमिटिको आयोजनामा शनिबार रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो। स्थापना दिवसको अवसरमा शनिबार बिहान खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै यो कार्यक्रम राखिएको नाबुन मोरङकी अध्यक्ष बसन्ती गुरुङले जानकारी दिनुभयो ।

उक्त रक्तदान कार्यक्रममा एक दर्जनभन्दा बढी सौन्दर्यकर्मी तथा सामाजिक अभियन्ताहरूले रक्तदान गरेका छन्। त्यसैगरी, युनियनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगर–२ मा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत एक जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ ।

युनियनले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष आर्थिक रूपमा विपन्न र लगनशील विद्यार्थीहरूलाई सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रममा नाबुनकी केन्द्रीय सदस्य गंगा तामाङ, कोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल लगायत प्रदेश तथा विराटनगर महानगर कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सौन्दर्य पेसामा आबद्ध महिलाहरूको हकहितका लागि क्रियाशील यो युनियनले व्यावसायिक दक्षता वृद्धिका साथै सामाजिक सेवाका कार्यहरूलाई पनि निरन्तरता दिँदै आएको छ ।