इटहरी। कुनै समय दसैँ–तिहारको आगमनसँगै पूर्वी पहाडी गाउँबस्तीमा छुट्टै रौनक छाउँथ्यो । गाउँका चौतारी, खुला चौर र टोलटोलमा बाँस, काठ र डोरीको सहायताले बनाइने काठे रोटे पिङ तथा बाँसका लिङ्गे पिङले चाडपर्वको उत्साह थप्थे । बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेल्न झुम्मिन्थे ।

तर, आधुनिक मनोरञ्जनका साधनको विस्तार र बदलिँदो जीवनशैलीसँगै दसैँ–तिहारको पहिचान बनेका यस्ता मौलिक परम्परा अहिले बिस्तारै हराउँदै जान थालेका छन् । कुनै समय दसैँ सुरु हुनासाथ इलामका गाउँगाउँमा युवाहरू मिलेर पिङ बनाउन जुट्थे । कसैले काठ खोज्थे, कसैले बाँस, डोरी र आवश्यक सामग्री जुटाउँथे कसैले पिङ निर्माणमा सघाउँथे ।

गाउँलेको सामूहिक प्रयासबाट तयार भएको पिङमा बालबालिका, युवा र बूढापाका सबै पालैपालो मच्चिन्थे । पिङ खेल्ने बहानामा साथीभाइ, आफन्त र छिमेकीबीच भेटघाट हुन्थ्यो । यसले गाउँमा आत्मीयता र सामूहिकताको भावना बलियो बनाउँथ्यो । विशेषगरी काठबाट निर्माण गरिने रोटे पिङ पहाडी जनजीवनको मौलिक पहिचान थियो । यसको निर्माणमा आवश्यक काठको व्यवस्थापनदेखि पिङ तयार पार्नेसम्म गाउँलेको सामूहिक सहभागिता रहन्थ्यो । तर, अहिले त्यस्ता पिङ गाउँघरमा विरलै देखिन थालेका छन् ।

इलामको सन्दकपुर गाउँपालिका–इङ्लाका प्रकाश भट्टराईलाई बाल्यकालमा काठे रोटे पिङ खेलेको सम्झना अझै ताजा छ । उहाँका अनुसार दसैँमा इङ्लास्थित घरबाट आफन्तकोमा टीका लगाउन सुम्बेक जाँदा बाटोमा पर्ने सुलुबुङमा काठे रोटे पिङ खेल्ने गरेको अनुभव उहाँसँग छ । भट्टराईका अनुसार पहिले दसैँ आउनुअघि नै गाउँका केही ठाउँमा काठे रोटे पिङ र अधिकांश ठाउँमा बाँसको लिङ्गे पिङ बनाउने चटारो सुरु हुन्थ्यो । पिङ तयार भएपछि गाउँभरिका बालबालिका, युवा र ज्येष्ठ नागरिक जम्मा भएर रमाइलो गर्थे ।

इलामको सोयाकका करिब ९० वर्षीय तारानिधि गौतमको सम्झना पनि उस्तै छ । उहाँका लागि दसैँ आएको अनुभूति नै गाउँमा पिङ देखेपछि हुन्थ्यो । इलामको गोलाखर्कका अर्का ज्येष्ठ नागरिक डिल्लीराम निरौलाका अनुसार पिङ गाउँको मनोरञ्जनको साधन मात्र थिएन, सामाजिक एकताको माध्यम पनि थियो । पछिल्लो समय गाउँघरबाट मानिसको बसाइँसराइ, युवापुस्ताको विदेश पलायन, परम्परागत सीपको अभाव र आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रयोगले काठे रोटे पिङ तथा बाँसको लिङ्गे पिङ निर्माण गर्ने चलन घट्दै गएको छ ।

कुनै समय दसैँ–तिहारको आगमनसँगै गाउँको आकर्षण बन्ने पिङ अहिले कतिपय ठाउँमा सम्झनामा मात्रै सीमित हुन थालेका छन् । पिङ निर्माण र खेल्ने परम्पराले गाउँलेबिच सहकार्य, सद्भाव र आत्मीयता बढाउने अवसरसमेत प्रदान गर्थ्यो । मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय तह, सामाजिक संस्था, युवा क्लब र समुदायले चासो दिन आवश्यक रहेको जानकारहरू बताउँछन् ।