इटहरी। ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात र जिल्लाका विभिन्न स्थानमा मध्यम वर्षा भएपछि जिल्ला प्रशासन कार्यालयले पर्यटक तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा यात्रा गरिरहेका पर्यटक तथा यात्रु जोखिममा पर्न सक्ने भन्दै प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान र सम्भव भएसम्म सुरक्षित स्थानमा फर्कन अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार कञ्चनजङ्घा आधार शिविर तथा सिङ्जेमा ताल हुँदै तिब्बत नाकातर्फ भ्रमणमा गएका २५० जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक विभिन्न होटल र स्थानीयका घरमा सुरक्षित रूपमा बसिरहेका छन् ।
मौसममा सुधार नआएसम्म जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न सुरक्षा निकाय, स्थानीय तह तथा स्थानीय बासिन्दामार्फत सूचना प्रवाह भइरहेको उहाँले बताउनुभयो । पर्यटक तथा यात्रुलाई मौसमको अवस्थाबारे समयमै जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको उहाँको भनाइ छ । प्रतिकूल मौसमका कारण कुनै पर्यटक वा यात्रु समस्यामा परेमा सम्बन्धित निकायले जारी गरेको सूचनामा उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी दाहालले अनुरोध गर्नुभएको छ ।
प्रशासनले हिमपात र वर्षा भइरहेका उच्च जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ । हिमाली क्षेत्रमा मौसम छिटो परिवर्तन हुन सक्ने भएकाले यात्राको योजना बनाउनुअघि मौसमसम्बन्धी जानकारी लिन र जोखिमपूर्ण पदमार्गमा यात्रा नगर्न प्रशासनले सचेत गराएको छ ।


