इटहरी । इटहरीमा प्रिमियर वायर्स प्रालि द्वारा इलेक्ट्रिसियन समिट २०२६ सम्पन्न भएको छ । कार्यक्रममा १७० भन्दा बढी अनुभवी तथा दक्ष इलेक्ट्रिसियनहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित र गुणस्तरीय हाउस वायरिङबारे जनचेतना फैलाउनु तथा नवीनतम् केबल प्रविधिबारे जानकारी प्रदान गर्नु रहेको थियो ।
कार्यक्रममा प्रिमियर वायर्स प्रालिले आफ्ना उच्च गुणस्तरीय एफआरएलएसएच केबल तथा नवप्रवर्द्धित जेडएचएफआर केबल सार्वजनिक रूपमा परिचय गराएको थियो । हाउस वायरिङका लागि उपयुक्त यी केबलहरू प्रयोग गर्दा सर्ट सर्किट भएमा आगलागी हुने सम्भावना न्यून रहने र विषालु ग्यास उत्सर्जन नहुने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै, सुरक्षित विद्युत् जडान र आधुनिक प्रविधिको प्रयोगले घर तथा उद्योगलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरा कार्यक्रममा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागी इलेक्ट्रिसियनहरूले प्रिमियर वायर्स प्रालिको उत्पादनको गुणस्तर, सुरक्षा मापदण्ड तथा नवीन प्रविधिको प्रशंसा गर्दै भविष्यमा यस्ता कार्यक्रमले विद्युत् क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । प्रिमियर वायर्स प्रालिले आगामी दिनमा पनि देशभर यस्ता प्राविधिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सुरक्षित र भरपर्दो वायरिङ समाधान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


