इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी कृषकहरूको वास्तविक अवस्था बुझ्न प्रत्यक्ष रूपमा कृषकका फार्ममै पुगेर निरीक्षण तथा छलफलमा जुट्नुभएको छ ।

मन्त्री मन्सुरीले प्रदेश सरकारका योजना प्रभावकारी बनाउन, कृषकको समस्या बुझ्न र व्यावसायिक बनाउन तथा कृषि उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायिक कृषक र कृषि उद्यमीहरूसँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिनुभएको हो । फार्ममै पुगेर समस्या बुझ्दा नीति निर्माण, अनुदान व्यवस्थापन तथा कार्यक्रम कार्यान्वयन थप प्रभावकारी बन्ने मन्त्री मन्सुरीले बताउनुभयो ।

आईतबार वराहक्षेत्र नगरपालिका पुग्नुभएका मन्त्री मन्सुरीले पाङ्गारिक मल उत्पादन गर्ने उद्योग, व्यवसायिक तरकारी खेती गरिरहेका कृषकहरू तथा स्थानीय सरोकारवालासँग छलफल गर्नुभएको थियो । साथै प्रदेश सरकारबाट उपलब्ध गराइने अनुदान सामग्री, ब्याज अनुदान, कृषि उपकरण, नीति संशोधन, बजारीकरण, चिस्यान केन्द्र, विद्युत्, बीमा तथा सिँचाइ लगायतका विषयमा विस्तृत छलफल तथा निरीक्षण गरिएको थियो ।

वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले मन्त्रीको यो पहलले कृषक तथा कृषि उद्यमीका समस्या समाधान, योजनाको प्रभावकारी कार्यान्वयन र स्थानीय तहलाई योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।