इटहरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचार नहुने वा गुणस्तरीय नहुने भन्ने भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जाल मार्फत फैलाइएका तथ्यहीन दाबीले प्रतिष्ठान प्रति अविश्वास सिर्जना गर्न खोजिएको बताइएको छ । प्रतिष्ठानका अनुसार स्थापना काल देखि नै करिब तीन दशक देखि क्यान्सर बिरामीको उपचार हुँदै आएको छ । पूर्वी नेपालमा क्यान्सर सम्बन्धी शल्यक्रिया सेवा सुरु गर्ने पहिलो संस्थामध्ये यो अग्रणी रहेको दाबी गरिएको छ ।
हाल क्यान्सर उपचारका दुई प्रमुख स्तम्भ शल्यक्रिया र सिस्टेमिक थेरापी नियमित र गुणस्तरीय रूपमा सञ्चालनमा छन् भने रेडियोथेरापी सेवा निकट भविष्यमा विस्तार गर्ने योजना रहेको जनाएको छ । प्रतिष्ठानले उपलब्ध गराउँदै आएका सेवामा न्यूनतम लागतमा उपचार, घरमै सेवा, अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग सहकार्य, नियमित क्यान्सर स्क्रिनिङ कार्यक्रम तथा दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिम लगायतका कार्यक्रम समावेश छन्।
प्रतिष्ठानले आफ्नो सेवा प्रमाणमा आधारित, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र बहुविषयगत छलफल मार्फत प्रदान गरिने स्पष्ट पारेको छ । गत आर्थिक वर्ष २०८१।८२ मा ३१७ जनाको क्यान्सर शल्यक्रिया, २ हजार ७ सय २८ जनालाई बहिरङ्ग सिस्टेमिक थेरापी र ९ सय २२ जनालाई अन्तरङ्ग सिस्टेमिक थेरापी सेवा प्रदान गरिएको तथ्यांक पनि सार्वजनिक गरिएको छ ।
प्रवक्ता शमशेर श्रेष्ठले क्यान्सर उपचारबारे फैलाइएका भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गर्दै सस्तो र सुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभएको छ ।


