इटहरी । लागू औषध दुव्र्यसनको बढ्दो जोखिमबाट युवा पुस्तालाई जोगाउन इटहरी उपमहानगरपालिका वडा नं. २० स्थित जनसहयोग माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

इटहरी उपमहानगरपालिका वडा नं. २ बाल सञ्जालको आयोजना, वडा नं. २ वडा कार्यालयको समन्वय र जनसहयोग माध्यमिक विद्यालयको सह–आयोजनामा आयोजित उक्त कार्यक्रममा कक्षा ११ का ३५ जना विद्यार्थीहरू सहभागी थिए । वडा नं. २ बाल सञ्जालका अध्यक्ष सविन तिम्सिनाले कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो।

सञ्जालको तर्फबाट युवा र विद्यार्थीहरूलाई सामाजिक विकृति विरुद्ध गोलबन्द गर्ने अभियानको नेतृत्व गरिरहनुभएका तिम्सिनाले कार्यक्रमको उद्देश्य र लागू औषध मुक्त समाज निर्माणमा बाल तथा युवा सञ्जालको भूमिकाबारे प्रकाश पार्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक जनक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन सभापति बस्नेतले ब्यानर वाचन गरेर गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा मोहन दाहाल र विशिष्ट अतिथिको रूपमा वडा नम्बर ४ बाल सञ्जालका सदस्य सुरज पाण्डे उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, अतिथिको रूपमा वडा नम्बर २० बाल सञ्जालकी सदस्य रेश्मा कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रशिक्षक सन्देश दंगालले लागू औषध दुव्र्यसनले युवा पुस्तामा पारेको गम्भीर प्रभाव र यसबाट जोगिने उपायहरूका बारेमा प्रशिक्षण दिनुभएको थियो।

उहाँले लागू औषधका प्रकार र यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने असरबारे विद्यार्थीहरूलाई सचेत गराउनुभयो। विद्यालय र बाल सञ्जालको संयुक्त प्रयासमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूलाई कुलतबाट टाढा रहन र सचेत नागरिक बन्न प्रेरित गरेको सहभागीहरूले बताएका छन् ।