इटहरी । धर्तीको पहिलो तीर्थस्थलको रूपमा पूजित बृहत भू–बराह क्षेत्रमा आगामी २०८२ चैत्र २१ गतेदेखि २९ गतेसम्म श्रीमद् भागवत सप्ताह महापुराण आयोजना हुने भएको छ ।

श्री रामानुज विशिष्टद्वैत धर्मशाला एवम् श्री भू–बराह अन्नक्षेत्र समितिले आयोजना गर्न लागेको उक्त महापुराण श्री श्री श्री १००८ मावल ब्रह्मचारी श्री देव राजा चार्य स्वामीजीको संकल्पबाट सम्पन्न हुने समितिका अध्यक्ष दाताराम शर्मा भण्डारीले जानकारी दिनुभयो ।

सदियौं देखि सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको धरोहरको रूपमा रहेको बराह तीर्थको महिमा विभिन्न पुराण एवम् धर्मग्रन्थहरूमा उल्लेख हुँदै आएको छ । हरेक वर्ष यस क्षेत्रमा आउने तीर्थयात्रीहरूको संख्या बढ्दै गइरहेको समितिले जनाएको छ । धर्मशाला तथा अन्नक्षेत्रको स्थापना २०५५ साल कार्तिक ठूली एकादशीमा स्वामीजीकै संकल्पबाट भएको हो।

बृहत बराहक्षेत्र विकास समितिको परिसरमा अवस्थित उक्त संस्थाले हरेक मेला तथा पर्वमा आउने तीर्थयात्रीहरूलाई स्वैच्छिक दान तथा दैनिक मुठ्ठीदानबाट प्राप्त रकम परिचालन गरी निःशुल्क भोजन सेवा प्रदान गर्दै आएको छ। संस्था स्थापनाकाल देखि हालसम्म स्वदेश तथा विदेशका भक्तजनहरूबाट करिब ३ करोड रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग संकलन भई भवन निर्माण र सेवा सञ्चालन हुँदै आएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

आगामी महापुराण कार्यक्रममा संस्थाका सेवाकर्मी भक्तजनहरूका कुल–पितृहरूको मोक्षको कामना समेत गरिने समितिले जनाएको छ ।