इटहरी ।  दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । एक औपचारिक कार्यक्रमका ३४ कोठे आधुनिक भवन उद्घाटन गरिएको हो।

लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित रु सात करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

उनका अनुसार निर्माण कम्पनीसँग भएको सम्झौताबमोजिम विसं २०८० साल मङ्सिरबाट सुरु गरिएको भवन दुई वर्षको अवधिमै सम्पन्न गरिएको हो।  लिफ्टसहितको पूर्वाधार निर्माण गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सेवाग्राहीलाई सहज पहुँच हुने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित भवन निर्माण गरिएको बताए।

उक्त भवन केन्द्रीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताए।