इटहरी । भोजपुरको अरूण गाउँपालिकाको आयोजनामा एआई तथा साइबर सेक्युरिटी सम्बन्धी एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाहलमा आयोजित उक्त तालिममा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग, यसको अवसर, चुनौती तथा साइबर सुरक्षाका आधारभूत पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले आधुनिक प्रविधिको प्रयोग बिना विकास सम्भव नरहेको उल्लेख गर्दै यस्ता तालिमले जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीले साइबर सुरक्षाको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै सरकारी सूचनाको सुरक्षा र प्रविधिको सुरक्षित प्रयोगमा सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले डिजिटल युगअनुसार कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रमका अध्यक्ष तथा आर्जु मिडिया प्रा. लि.का प्रबन्धक अर्जुन बस्नेतले एआई र साइबर सेक्युरिटी जस्ता विषयहरू समयको आवश्यकता बनेको बताउँदै यस्ता तालिम मार्फत स्थानीय तहमा प्रविधि सम्बन्धी ज्ञान विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।
साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुृभयो । तालिममा प्रशिक्षक रोहितराज दाहालले सहजीकरण गर्दै बढ्दो एआई प्रयोग सँगै डिजिटल सुरक्षा सचेतना अत्यावश्यक बन्दै गएको बताउनुभयो । उहाँले सरकारी कामकाजमा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा करिब ४० जना जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एआईको बढ्दो प्रयोग सँगै यस सम्बन्धी ज्ञान सबैले अनिवार्य रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्। उक्त कार्यक्रमको सन्चालन दिबस श्रेष्ठले गर्नु भएको थियो भने गाउँपालिकाले आगामी दिनमा यस्ता प्रविधिमैत्री तालिम कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


