इटहरी । सवारी साधनमा जडित ध्वनि प्रदुषण गर्ने प्रेसर हर्न हटाउने अभियानलाई झापा ट्राफिक प्रहरीले तीव्र पारेको छ। जिल्लाभर सञ्चालित कारबाही तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत प्रहरीले प्रेसर हर्न प्रयोग गर्ने सवारीमाथि कडाइ सुरु गरेको हो।
अभियानको क्रममा आज मात्रै जिल्लाका विभिन्न स्थानबाट ७३ वटा प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यसैगरी, ट्राफिक नियम उल्लंघन गर्ने अन्य ११ वटा सवारी साधनलाई पनि कानुनबमोजिम कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार प्रेसर हर्नबाट निस्कने अत्यधिक ठूलो आवाजले ध्वनि प्रदूषण मात्र नभई आम नागरिकको श्रवण शक्ति र मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पुऱ्याउने गर्दछ।यसलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी चालक तथा सर्वसाधारणलाई सचेत गराउन ठाउँ-ठाउँमा जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ। ध्वनि प्रदुषण नियन्त्रण गरी सडक अनुशासन कायम राख्न यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ।


