इटहरी। सुनसरीको देवानगन्ज गाउँपालिकाले कृषि उत्पादनको लागत घटाउने र किसानलाई सिँचाइमा सहज पहुँच पु(याउने उद्देश्यले खेत खेतमा विद्युत् विस्तार गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब ३० करोड रुपियाँको लगानीमा सञ्चालन भइरहेको कृषि सिँचाइ विद्युतीकरण आयोजना सम्पन्न भएपछि किसानले विद्युतीय मोटरबाट कम खर्चमा सिँचाइ सुविधा उपयोग गर्न पाउने भएका छन् ।
देवानगन्ज गाउँपालिका–६, मेहता टोलका कृषक हिरा मेहताले आफ्नै तीन बिघा जग्गासहित ठेक्का र अन्य किसानको जग्गा समेटेर ५० बिघा क्षेत्रफलमा धानको बिउ वृद्धि गर्दै आउनुभएको छ । चार वर्षदेखि धानको बिउ वृद्धिमा संलग्न मेहताका अनुसार डिजेल पम्पसेटबाट सिँचाइ गर्दा प्रतिघण्टा करिब तीन सय रुपियाँ खर्च हुने गरेको थियो । देवानगन्ज गाउँपालिका–२ का रमेश मेहताले आठ बिघा जमिनमा खेती गर्दै आउनुभएको छ । धान, मकै, गहुँ, तोरी र जुटलगायतका बाली लगाउने उहाँलाई डिजेल प्रयोग गरेर पम्पसेट चलाउँदा प्रतिघण्टा करिब तीन सय रुपियाँ खर्च लाग्ने गरेको छ । सिँचाइका लागि नियमित खर्च गर्नुपर्ने भएकाले खेतीको लागत बढ्ने उहाँ बताउनुहुन्छ । गाउँपालिकाले सिँचाइका लागि विद्युतीकरण योजना सञ्चालनमा ल्याउन लागेको छ । उहाँका अनुसार खेतीमा समयमै पानी लगाउन नसक्दा उत्पादनमा असर पर्ने भएकाले आकासे पानीको भरमा मात्रै खेती गर्न सम्भव हुँदैनथ्यो । सिँचाइका लागि आफ्नै पम्पसेट नहुने किसानले अरूको पम्पसेट प्रयोग गर्दा डिजेल खर्चबाहेक प्रतिघण्टा करिब दुई सय खर्च हुने गरेको थियो । मेहताको जस्तै समस्या भोगिरहेका अन्य किसानको सिँचाइ खर्च घटाउने लक्ष्यसहित गाउँपालिकाले कृषि विद्युतीकरण कार्यव्रmम अघि बढाएको छ । खेत खेतमा विद्युत्का पोल र तार विस्तार गरी विद्युतीय मोटरबाट पानी तान्ने व्यवस्था मिलाउन लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार आयोजना अन्तिम चरणमा पुगेको छ । बाँकी क्षेत्रमा समेत विद्यु्त् पोल गाड्ने र तार विस्तार गर्ने काम भइरहेको छ । आगामी महिनाभित्र आयोजनाको औपचारिक शुभारम्भ गर्ने तयारी रहेको उहाँले बताउनुभयो । ‘खुसी किसान, देवानगन्जको पहिचान’ भन्ने नारासहित कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको अध्यक्ष मेहताले बताउनुभयो । किसानले सिँचाइका लागि प्रयोग गर्ने विद्युत्को महसुलसमेत गाउँपालिकाले बेहोर्ने योजना रहेको उहाँले बताउनुभएको छ । गाउँपालिकाका सात वटै वडाका खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पु(याउने छ । हालसम्म वडा नं। ४, ६ र ७ मा विद्युतीकरणको काम भइरहेकोे गाउँपालिकाले जनाएको छ । बाँकी क्षेत्रमा पनि काम भइरहेको र आयोजना पूरा भएपछि किसानलाई सिँचाइका लागि डिजेल पम्पसेटमा निर्भर हुनुपर्ने बाध्यता हट्ने जनाइएको छ । आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब ३० करोड रुपियाँ लगानी हुने जनाइएको छ । यसअघि गाउँपालिकाले सिँचाइका लागि किसानलाई मोटरसमेत वितरण गर्दै आएको छ । अध्यक्ष मेहताका अनुसार आर्थिक वर्ष २०८३र८४ मा एक हजार १६ वटा मोटर वितरण गरिएको छ भने करिब ५० वटा वितरण गर्न बाँकी छ ।
कृषिमा निर्भर देवानगन्ज
सुनसरी सदरमुकाम इनरुवादेखि करिब २५ किलोमिटर दक्षिणमा रहेको देवानगन्ज गाउँपालिकाका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन् । गाउँपालिकामा करिब ९० प्रतिशत बासिन्दा कृषिमा निर्भर रहेको जनाइएको छ । यहाँ धान, मकै, गहुँ, जुट, उखु, केरा तथा विभिन्न प्रकारका तरकारी खेती गरिन्छ । गाउँपालिकाको कृषि शाखाका अनुसार यहाँ छ हजार ८४५ परिवार कृषि पेसामा आबद्ध छन् । गाउँपालिकामा चार हजार ६२५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये तीन हजार ५८२ हेक्टरमा धान खेती हुने गरेको छ । तीन हजार ३४६ हेक्टरमा हिउँदे मकै र एक हजार ३२८ हेक्टरमा गहुँ खेती हुने गरेको शाखाले जनाएको छ । देवानगन्ज तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा समेत परिचित छ । यहाँ काउली, बन्दा, ब्रोकाउली, टमाटर, करेला, रायो साग, गाँजर, भिन्डी, धनियाँ, मुला, भान्टा, परबर, घिरौँला, आलु, प्याजलगायतका तरकारीको खेती गरिन्छ । कृषिमा ठुलो जनसङ्ख्या निर्भर रहेको यस क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि वर्षभरि विभिन्न बाली लगाउन, मौसम अनुसार खेती गर्न र उत्पादन बढाउन सहयोग पुग्ने अगुवा कृषक हिरा मेहता बताउनुहुन्छ । विद्युतीकरण आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि सिँचाइका लागि हुने खर्च घट्नुका साथै किसानलाई नियमित रूपमा खेतमा पानी पु(याउन सहज हुने गाउँपालिकाले जनाएको छ ।


