इटहरी स्  विराटनगर महानगरपालिका–११ स्थित एक छापाखानामा विहीवार   साँझ आगलागी भएको छ । साँझ करिब ६ः२५ बजे सुरु भएको आगलागी राति ८ः३० बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार राधारत्न ओखलढुंगा छापाखानामा आगलागी भएको हो । घटनाको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लोकेन्द्र सिंह गुरुको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी र विराटनगर महानगरपालिकाका दुईवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको मिश्रले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रहरीका अनुसार उक्त छापाखाना मेनुका वाग्ले र सन्तोष पौडेलले सञ्चालन गरेको कञ्चन बहुउद्देश्यीय कम्पनी प्रालिको हो । आगलागीबाट भएको भौतिक क्षतिको विवरण संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको कारण पत्ता लगाउन तथा क्षतिको विवरण संकलन गर्न प्रहरीले अनुसन्धान अघि बढाएको डीएसपी मिश्रले बताए ।