इटहरी स् जबरजस्ती करणी गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ घर भई हाल मोरङको विराटनगर महानगरपालिका–४ इक्राही टोलस्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय राकेश कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यादवले छिमेकमा बस्ने २९ वर्षीया अविवाहित महिलालाई ललाइफकाई तथा धाकधम्की दिई जबरजस्ती करणी गरेको र गर्भवती बनाएपछि फरार भएका थिए । पीडित महिलाले बच्चासमेत जन्म दिएपछि २०८१ भदौ २८ गते यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरीले खोजतलास गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिराहाको सहयोगमा उनलाई कात्तिक ११ गते आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई मोरङ ल्याई जिल्ला अदालतबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।