इटहरी । छठ पर्व नजिकिँदै गर्दा उद्योग तथा कारखानाबाट निस्कने फोहोर र रासायनिक पदार्थ मिसिएको दूषित पानी नदी तथा नालामा मिसाउने कार्य रोक्न छठ पूजा समिति–२०८३, दुहबीले नगरपालिकासँग माग गरेको छ।
समितिले दुहबी नगरपालिकाका उपप्रमुखसमक्ष निवेदन पेस गर्दै छठ पर्वका बेला नदी, पोखरी तथा जलाशयमा हुने प्रदूषण नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको हो। समितिका अध्यक्ष चन्दनकुमार बैठा र सचिव सुरजकुमार रौनियारद्वारा हस्ताक्षरित निवेदनमा छठ पर्व नेपाली समाजको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व भएकाले यसको पवित्रता कायम राख्न जलाशयहरूको सरसफाइ र प्रदूषण नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। छठ पर्वमा श्रद्धालु भक्तजनले नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजा गर्ने परम्परा रहेकाले स्वच्छ पानी र सफा वातावरण आवश्यक रहेको समितिको भनाइ छ।
तर, विभिन्न उद्योग तथा कारखानाबाट निस्कने फोहोर र रासायनिक पदार्थ मिसिएको दूषित पानी नदी तथा नालामा मिसिँदा जल प्रदूषण बढ्दै गएको भन्दै समितिले चिन्ता व्यक्त गरेको छ। यस्तो प्रदूषणले छठ पूजामा सहभागी हुने श्रद्धालु भक्तजनको स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै जलचर, जैविक विविधता र समग्र वातावरणमा समेत गम्भीर समस्या निम्त्याउन सक्ने निवेदनमा उल्लेख छ। समितिले छठ पर्वको धार्मिक महत्त्व, जनस्वास्थ्य र वातावरण संरक्षणलाई ध्यानमा राख्दै उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी नदी तथा नालामा मिसाउन रोक लगाउन माग गरेको छ।
त्यसैगरी, सम्बन्धित उद्योग तथा कारखानाको नियमित अनुगमन र निरीक्षण गर्न, प्रदूषण फैलाउने उद्योगलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा नदी र जलाशयलाई प्रदूषणमुक्त बनाउन प्रभावकारी कदम चाल्न नगरपालिकाको ध्यानाकर्षण गराइएको छ। छठ पूजा गरिने नदी तथा घाटहरूको समयमै सरसफाइ गरी श्रद्धालु भक्तजनलाई स्वच्छ र सुरक्षित वातावरणमा पूजा गर्ने व्यवस्था मिलाउन पनि समितिले विशेष अनुरोध गरेको छ। जनस्वास्थ्य, धार्मिक आस्था र वातावरण संरक्षणसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिई छठ पर्वअघि नै आवश्यक पहल गर्न समितिले दुहबी नगरपालिकासँग आग्रह गरेको छ।

