इटहरी – मोरङमा लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ।

रतुवामाई नगरपालिका(६ स्थित शनिश्चरेमा बिहीबार राति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको हो। प्रहरीको गोली लागेर भारतको अररिया, कुटमगञ्जका ४० वर्षीय पुरन बोसाक र २२ वर्षीय दीपककुमार बोसाक घाइते भएका छन्। त्यसैगरी, रतुवामाईकै ३५ वर्षीय प्रमोदकुमार ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब ५०० ग्राम खैरो हेरोइन, एउटा पेस्तोल र गोली बरामद गरेको छ। रातिको समयमा गस्ती गरिरहेको अवस्थामा गोली हानाहान भएको थियो। सोही क्रममा प्रहरीलाई देखेपछि कारोबारीहरूले गोली चलाउँदै भाग्न खोज्दा प्रहरीले जवाफी कारबाही गरेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए। कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड गोली चलाएको उनले बताए।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँ र विराटनगरस्थित लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्रमा निगरानी तथा अनुसन्धान गर्दै आएको थियो। उनीहरूको साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत बरामद गरिएको छ। सो क्रममा दुवै भारतीय नागरिक बोसाकको खुट्टामा गोली लागेको उनले बताए। घाइते बोसाकद्वयलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।