इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहानबाट प्रहरीले भन्सार छली गरी ल्याइएको पाँच लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी ल्याइएको लत्ताकपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरी टोलीलाई देखेपछि चालक मोटरसाइकल छाडेर फरार भएका थिए।
प्रहरीले लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा बुझाएको छ। फरार मोटरसाइकल चालकको पहिचान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

