इटहरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा बर्ड फ्लु रोग नियन्त्रणसम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिका वडा नं. १ स्थित पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा  बर्ड फ्लु रोगको जोखिम, रोकथामका उपाय र जनचेतना अभिवृद्धिमा जोड दिईएको हो । कार्यक्रममा बर्ड फ्लु रोगको पहिचान, संक्रमणबाट जोगिने उपाय तथा फ्रेस हाउस सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा सहभागी  नगरभित्रका फ्रेस हाउस सञ्चालकहरूलाई  जानकारी गराइएको  थियो ।

नगरपालिकाका पशु चिकित्सक डा. आशिष देवको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडाध्यक्षहरू भीम राई र उद्धवराज बस्नेत, कार्यपालिका सदस्यहरू सिता भूषाल र मन्जु राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुल्सीराम अर्याल, नगर प्रहरी प्रमुख योगेन्द्र श्रेष्ठ तथा जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगर, पशु स्वास्थ्य शाखाका प्राविधिक लक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो  । 

कार्यक्रममा  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका वरिष्ठ पशु विकास अधिकृत डा. अजय कुमार शाहले सहजीकरण गर्नुभएको थियोे ।