इटहरी । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका(४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुनसकेको छैन ।
स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही स्थानमा अलप भएपछि उक्त शिलाको उत्पत्ति भएको मानिन्छ । यही किंवदन्तीका आधारमा यस स्थानलाई ‘शिला सुत्केरी’ नाम दिइएको स्थानीय गङ्गाबहादुर खड्काले बताउनुभयो । हाल पनि उक्त ढुङ्गामा महिला सुत्केरी हुँदै गरेकोजस्तो आकृति स्पष्ट देख्न सकिने स्थानीयको दाबी छ । जसले यस स्थललाई थप रहस्यमय र आकर्षक बनाएको छ । स्थानीय खड्काका अनुसार ‘शिला सुत्केरी’ धार्मिक आस्था र विश्वाससँग जोडिएको एक अद्भुतस्थल हो । उहाँका अनुसार केही दशकअघिसम्म यहाँ नियमित रूपमा मेला तथा धार्मिक महोत्सव लाग्ने गर्दथ्यो ।
विशेषगरी बालाचतुर्दशीका अवसरमा स्थानीय तथा छिमेकी जिल्लाबाट समेत भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको थियो । तर पछिल्लो समय ती गतिविधि क्रमशः घट्दै गएर अहिले लगभग बन्दजस्तै भएको छ, जसका कारण यस क्षेत्रको चहलपहल पनि घट्दै गएको छ । ‘शिला सुत्केरी’को धार्मिक तथा सांस्कृतिक महत्वलाई व्यवस्थित रूपमा उजागर गर्न सके यसलाई देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ख्डकाको भनाइ छ । यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ऐतिहासिक पृष्ठभूमिले धार्मिक पर्यटन प्रवर्द्धनका लागि ठूलो सम्भावना बोकेको छ ।यस क्षेत्रको संरक्षणका लागि स्थानीय तहले केही पहल भने गरेको छ । हतुवागढी–४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार वडाले सीमित स्रोतसाधनका बाबजुद घेराबारालगायत आधारभूत संरक्षणका काम सम्पन्न भएका छन् ।
शिला रहेको जग्गा निजी स्वामित्वमा रहेकाले यसको समग्र विकास र संरक्षणमा जटिलता देखिएको छ । जग्गा व्यवस्थापनको समस्या समाधान हुन नसक्दा ठूला योजना कार्यान्वयन हुन नसकेको स्थानीय तहको भनाइ छ । वडाध्यक्ष विष्टका अनुसार गत आर्थिक वर्षमा केन्द्र सरकारबाट प्राप्त करिब रु एक करोड बजेट सोही कारण कार्यान्वयन हुन नसकी फिर्ता गएको थियो । स्थानीय सरोकार भएकाहरूका अनुसार ‘शिला सुत्केरी’लाई संरक्षणसँगै प्रभावकारी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिनेछ । यसका लागि सरकारी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी तथा समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँहरूको भनाइ छ ।
स्थानीय मानबहादुर राईले यस स्थलको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनका लागि स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले ‘शिला सुत्केरी’ हतुवागढी क्षेत्रकै महत्त्वपूर्ण धार्मिकस्थल भएको उल्लेख गर्दै यसको विकासमा गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । जग्गा निजी स्वामित्वमा रहेकाले पटकपटक माथिल्लो निकायबाट प्राप्त भएको बजेट कार्यान्वयन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । ‘शिला सुत्केरी’जस्तो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थलको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा ध्यान दिन सके यो स्थान राष्ट्रियस्तरको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन स्थानीय जानकारहरूको भनाइ छ ।


