इटहरी । मोरङको सुन्दरहरैंचा–४ स्थित सुन्दर दुलारी सिटी सफारी संघले सिटी सफारी सेवालाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ८६ जना चालकलाई नम्बर सहितको सुरक्षित ज्याकेट वितरण गरेको छ । 

संघका अध्यक्ष नारायण सुबेदीको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वैधानिक रूपमा लाइसेन्स प्राप्त चालकहरूलाई परिचय खुल्ने नम्बर अंकित ज्याकेट हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार अपनाउनुपर्ने कुरामा विशेष जोड दिनुभयो ।

चालकको स्पष्ट पहिचान खुल्ने नम्बर सहितको ज्याकेटले सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुहरूको विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सवारी चालकहरूले ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित र अनुशासित रूपमा सवारी सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो। संघका अध्यक्ष सुबेदीले पहिलो चरणमा लाइसेन्स प्राप्त चालकलाई मात्र ज्याकेट वितरण गरिएको जानकारी दिँदै यात्रुहरूलाई अनिवार्य रूपमा आधिकारिक ज्याकेट लगाएका चालक द्वारा सञ्चालित सफारीमा मात्रै यात्रा गर्न आग्रह गर्नुभयो ।

यसबाट यात्रुको सुरक्षा सुनिश्चित हुनुका साथै अवैध र पहिचान विहीन चालकलाई निरुत्साहित गर्न ठूलो सहयोग पुग्नेछ । संघले आगामी दिनमा चालकहरूको क्षमता अभिवृद्धि, ट्राफिक सचेतना तथा सुरक्षित सार्वजनिक यातायात प्रवद्र्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय तह, ट्राफिक प्रहरी र सिटी सफारी व्यवसायीबीचको सहकार्यले सुन्दरहरैंचामा सुरक्षित, भरपर्दो र व्यवस्थित सार्वजनिक यातायात सेवा विस्तार गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।