इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका मा “भ्रामक समाचार विरुद्ध सचेतना अभियान” सम्पन्न भएको छ।

गाउँपालिकाका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा एकदिने सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो। “भ्रामक समाचार फैलाउनु अपराध हुन सक्छ, सचेत बनौं र जिम्मेवार बनौं”, “तथ्य पुष्टि गरौं, कानुनी जोखिमबाट बचौं” तथा “सत्य सूचना प्रवाह गरौं, सभ्य र सुरक्षित समाज निर्माण गरौं” भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा, शिक्षकहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

WhatsApp Image 2026-06-25 at 6.23.02 PM

कार्यक्रममा विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेल ले सहजीकरण तथा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले सामाजिक सञ्जाल र डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै भ्रामक तथा अपुष्ट सूचनाको जोखिम पनि बढ्दै गएको बताउनुभयो। पौडेलले भ्रामक समाचारले व्यक्ति, समाज र राष्ट्रमै नकारात्मक असर पार्न सक्ने भएकाले जिम्मेवार डिजिटल नागरिक बन्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा देखिने हरेक सूचना सत्य नहुने भन्दै तथ्य पुष्टि नगरी कुनै पनि सामग्री शेयर नगर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई समाचारको आधारभूत अवधारणा, भ्रामक समाचारको पहिचान, तथ्य परीक्षणका उपाय, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा भ्रामक सूचना फैलाउँदा हुन सक्ने कानुनी परिणामका विषयमा जानकारी गराइएको थियो। गाउँपालिकाले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सही सूचना पहिचान गर्ने क्षमता विकास हुनुका साथै जिम्मेवार नागरिक निर्माणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।