इटहरी। वनस्पतिको प्रजनन, कृषि उत्पादन र पर्यावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने पुतलीको प्राकृतिक वासस्थान मासिँदै जाँदा पुतलीको जीवनचक्रमा असर पर्न थालेको छ । जलवायु परिवर्तन, रासायनिक विषादीको बढ्दो प्रयोग, वनडढेलो र सहरीकरणका कारण पुतलीको वासस्थान साँघुरिँदै गएको अध्ययनकर्ता तथा संरक्षणकर्मीले बताएका छन् । 

नेपालमा हालसम्म ६९५ भन्दा बढी प्रजातिका पुतली अभिलेख गरिएका छन् । पछिल्लो समय पुतलीको सङ्ख्या घट्दै गएको पुतलीसम्बन्धी अध्ययन गर्दै आएका सानेजप्रसाद सुवालले बताउनुभयो । उहाँका अनुसार कैसर ए हिन्द, गोल्डेन बर्डविङ जस्ता दुर्लभ प्रजाति खतरामा छन् । पुतलीको जीवनचक्र पूरा हुन उपयुक्त तापक्रम, आहारा वनस्पति, फूलको रस र सुरक्षित वासस्थान आवश्यक पर्ने भएकाले वातावरणमा आउने परिवर्तनले पुतलीको अस्तित्वमा चुनौती थपेको बताइएको छ । 

अध्ययनकर्ता सुवालका अनुसार पुतलीको उपस्थितिले वातावरणको स्वच्छता र अवस्थाबारे सङ्केत गर्छ । वयस्क पुतलीले परागसेचनमा र लार्भाले वन तथा कृषिमा हानिकारक किरा खाएर पोषकचक्रमा योगदान पु(याउने उहाँ बताउनुहुन्छ । पुतली जलवायु परिवर्तनको सूचक हुनुका साथै पर्यापर्यटनका लागि पनि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । 

वनविनाश र पुतलीको घट्दो सङ्ख्यालाई ध्यानमा राख्दै महìवपूर्ण वासस्थान तथा जैविक विविधताका क्षेत्रलाई जोड्ने पुतलीमार्गको अवधारणालाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने उहाँ बताउनुहुन्छ । सुन्तला, कागती, सयपत्री तथा पुतलीका लार्भालाई उपयुक्त हुने बिरुवा रोप्ने, पानी र खनिजका लागि ओसिलो माटोको व्यवस्था गर्ने तथा घाम, हावा र वर्षाबाट जोगिन छाया र आश्रयस्थल बनाउने उहाँ सुझाउनुहुन्छ ।  

उहाँका अनुसार पुतली संरक्षणलाई एउटा जीव बचाउने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउँदै त्यसका लागि पुतलीको जीवनचक्रसँग जोडिएका वनस्पति, फूल, झाडी तथा प्राकृतिक वातावरण जोगाउन आवश्यक रहेको उहाँको भनाइ छ । पुतलीको जीवनचक्र अन्डा, लार्भा, प्युपा र वयस्क गरी चार चरणमा पूरा हुन्छ । लार्भालाई आवश्यक पर्ने आहारा वनस्पति नष्ट हुँदा र वयस्क पुतलीले फूलको रस पाउने वातावरण घट्दै जाँदा जीवनचक्र पूरा गर्न कठिन हुने अध्ययनकर्ता सुवाल बताउनुहुन्छ । 

नेपाल पन्छीविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मण पौडेलका अनुसार नेपालमा पुतलीका आठ प्रजाति नेपालमा मात्रै पाइने गरेका छन भने केही प्रजाति संरक्षणको अभावमा लोप हुने जोखिममा पुगेका छन् । पछिल्लो समय विषादीको अत्यधिक प्रयोग, प्राकृतिक वासस्थानको विनाश र मानवीय गतिविधिका कारण पुतली सङ्कटमा पर्दै गएको पौडेलले बताउनुभयो । 

तापक्रम वृद्धिले असर 

जलवायु परिवर्तनका कारण तापक्रम र वर्षामा आउने परिवर्तनले पुतलीको वासस्थानमा असर पार्दै आएको बताइएको छ । वातावरणीय परिवर्तनसँगै केही प्रजाति अनुकूल तापक्रम र वातावरण खोज्दै पहाडी तथा उच्च हिमाली क्षेत्रतर्फ सर्ने गरेका छन् । उच्च क्षेत्रमा उपयुक्त वासस्थान सीमित हुने भएकाले त्यहाँ पुग्ने प्रजाति थप जोखिममा पर्न सक्ने सुवालले बताउनुभयो । कृषिक्षेत्रमा प्रयोग हुने रासायनिक कीटनाशकले पुतलीका लार्भा र वयस्कलाई प्रत्यक्ष असर पु¥याउने बताइएको छ । वनफँडानी, डढेलो र सहरीकरण विस्तारले पुतलीको आहारा तथा आश्रयस्थल साँघुरिँदै गएको अध्ययनकर्ता बताउँछन् । अध्ययनकर्ताका अनुसार पुतलीसँगै अन्य परागसेचक किरा र तिनमा निर्भर जीवलाई समेत असर पार्ने बताइएको छ । 

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र पुतलीका लागि महत्त्वपूर्ण वासस्थान मानिन्छ । आरक्ष क्षेत्रमा गरिएको सर्वेक्षणमा ७७ प्रजातिका पुतली अभिलेख गरिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । आरक्षका घाँसेमैदान, नदीकिनार, झाडी तथा आसपासका वन क्षेत्रमा पुतलीका विभिन्न प्रजाति पाइन्छन् ।